काठमाडौँ – भारतीय अनुदानमा १० लाख कोभिडविरुद्धको खोप प्राप्त भएपछि गत वर्ष माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुरु गर्दै ३ महीनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए । तर बिचौलियाले कमिसन माग गर्दै खोप आयात रोकपछि समयमै खोप नआउँदा खोप कार्यक्रम प्रभावित भएको छ ।


ADVERTISEMENT


हालसम्म नेपालमा भारतले अनुदानमा दिएको १० लाख, खरिद गरेको १० लाख, भारतीय सेनाले सहयोगमार्फत उपलब्ध गराएको १ लाख र कोभ्याक्स सुविधाबाट प्रप्त गरेको ३ लाख ४८ हजारसहित २४ लाख ४८ हजार कोभिडशिल्ड र चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख भेरोसेल खोप प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म २४ लाख ८१ हजार ४६८ जनालाई कोभिडविरुद्धको खोप लगाइएको खोप महाशाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । जसमध्ये ३ लाख ६९ हजार ४४९ लाई मात्र दोस्रो मात्राको खोप पनि लगाइएकोमा २१ लाख १२ हजार १९ जनालाई दोस्रो मात्रा लगाउन बाँकी रहेको उनले बताए ।

उत्पादक कम्पनीकाअनुसार ८ देखि १२ हप्ताभित्र खोपको दोस्रो मात्रा लगाउनुपर्छ । तर खोप आयात रोकिँदा पहिलो खोप लगाएकाहरु दोस्रो मात्रा लगाउनबाट बञ्चित भएका छन् । समयमै दोस्रो मात्रा नलगाउँदा यसले नकारात्मक असर भने केही गर्दैन । यद्यपि, समयमै खोप लगाउन नसकिएपनि पहिलो खोपको प्रभावकारिता ६० देखि ६५ प्रतिशतसम्म रहने कोभिडचिकित्सक डा. शेरबहादुर पुनको भनाइ छ । ‘सकेसम्म समयमै खोप लगाउन सके राम्रो हो,’ उनले भने, ‘तर समयमै खोप लगाउन सकिएन भनेपनि यसको प्रभावकारिता नै रहँदैन भन्ने हुँदैन ।’ क्यानडालगायतका देशले १६ सातासम्ममा दोस्रो मात्रा लगाएको बताउँदै उनले खोपको दोस्रो मात्रा लगाउन केही ढिलाइ भएपनि प्रभावकारिता रहने बताए ।

यसैगरी जनस्वास्थ्यविद् डा. अनुप सुवेदी कोभिडशिल्डको ३ महीनापछिको प्रभावकारिता कस्तो हुन्छ भन्ने तथ्य हालसम्म बाहिर नआएको बताउँछन् । ‘तर पहिलेका अन्य अभ्यासबाट खोपको प्रभावकारिता ४ महीनासम्म रहेको हामीले पाएका छौँ,’ उनले भने, ‘प्रभावकारिता केही कम हुनसक्छ तर ढिलो आएपनि दोस्रो मात्रा लगाउनुपर्छ ।’