काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


यद्दपी प्रधानमन्त्री ओलीको आग्रहलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ठाडै अस्वीकार गरिदिएका छन् । ‘छलफलमा प्रधानमन्त्री ओलीले विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो । हामीले विपक्षी दल भएकाले स्वभावैले अहिले तपाईंलाई सहयोग गर्न सकिने अवस्था छैन भनेर हामीले स्पष्ट राख्यौँ’, बैठकमा सहभागी कांग्रेस सहमामन्त्री प्रकाश शरण महतले भने ।


ADVERTISEMENT

# # #


देशमा कोरोना महामारी व्याप्त रहेकाले यसको दुःखबाट जनतालाई बाहिर निकाल्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने र विपक्षी दल भए पनि कांग्रेस त्यसमा सहकार्य गर्न तयार रहेको बताएको उनले जानकारी दिए । छलफलमा सरकारले संसदलाई छलेर संवैधानिक अध्यादेश लगायतका अध्यादेशहरु ल्याएको विषय गम्भीरताका साथ उठाएको उनले बताए । उनका अनसुसार छलफलमा ओलीले लोकतान्त्रिक मूल्य र मान्यताका लागि सँगै लडेकाले सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा कांग्रेसले सरकारले लोकतान्त्रिक मूल्यमान्यता भत्काउँदै गएको र लोकतन्त्रको रक्षा गर्ने कुरा गरेजस्तै व्यवहारमा लागू गर्न सुझाएको छ ।

वार्ता सौहार्दपूर्ण भएको सहमहामन्त्री महतले बताए । सत्ता आउने जाने भएकाले त्यसमा जोड नदिई लोकतन्त्रलाई कमजार पार्न नहुनेमा कांग्रेसले स्पष्ट धारणा राखेको उनले बताए ।

प्रधानमन्त्री ओली बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास चन्द्र नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्री कृष्ण सिटौला लगायत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । कांग्रेसले यसअघि नै विश्वासको मतमा ओलीलाई पराजित गर्न लाग्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले समेत आज मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।