नेपालगञ्ज–भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या देखिएपछि धमाधम सहयोग जुट्न थालेको छ ।


ADVERTISEMENT


गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा आवश्यक अक्सिजन ग्यासको समेत अभाव भएको जानकारी हुनासाथ सहयोग जुट्न थालेको हो ।


ADVERTISEMENT

# # #


सङ्क्रमण अस्वभाविकरुपमा बढ्न थालेपछि कोभिड आइसोलेशनमा शैय्यासँगै अक्सिजनको समेत अभाव शुरु भएको थियो ।

गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्वशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उपलब्ध गराउने भएको छ । अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको खबर बाहिर आएपछि उनले पाँच हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लागेका हुन् ।

आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिए । कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक अक्सिजन खरीदका लागि शनिबार राष्ट्रिय युवा सङ्घ बाँकेले भेरी अस्पताललाई रु एक लाख ३२ हजार ७५० हस्तान्तरण गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अक्सिजन खरीदका लागि राष्ट्रिय युवा सङ्घले गरेको रकमले धेरै बिरामीको ज्यान जोगिन सहयोग पुगेको जनाउँदै आभार व्यक्त गरे । उनले उक्त रकम अक्सिजन खरीदमै उपयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सफिक वेहनाले बिरामीलाई अक्सिजन खरीदका लागि रु. दुई लाख सहयोग गरेको थियो भने नेपालगञ्जका सामाजिक अभियानकर्मी हेमन्त काफ्लेले सञ्चालन गरेको अभियानअन्तर्गत रु. तीन लाख बढी रकम सङ्कलन भएको छ ।

विभिन्न सङ्घ संस्था र मनकारी व्यक्तिको सहयोगबाट तत्कालका लागि बिरामीलाई चाहिने अक्सिजनको अभाव टरे पनि कोभिड अस्पतालमा आवश्यक श्यया र जनशक्ति नहुँदा सबै बिरामीलाई भर्ना गर्नसक्ने अवस्था नरहेको भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए। रासस