लुम्बिनी– तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ ।


ADVERTISEMENT


कोरोना सङ्क्रमणको पूर्वतयारीअन्तर्गत नगरपालिकाले शङ्करनगर स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


गत वर्षको कोरोना महामारीका समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना स्थानीय स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिएका छन् ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको उनले बताए ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो । बीस शैय्याको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिए ।

सेन्टरमा सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । केन्द्रमा बिरामीको २४सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरवासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिनेछ ।

पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहर चल्दै गर्दा तिलोत्तमामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । शनिबारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा १५३ सक्रिय सङ्क्रमित रहेका छन् । रासस