काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड विरुद्ध टस हारेको छ ।


ADVERTISEMENT


नेदरल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।‌ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको उपाधीका लागि घरेलू टोली नेपाल र नेदरल्याण्ड भिड्दैछन् ।


ADVERTISEMENT

# # #


नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको सिरिजमा नेपालसहित नेदरल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गरेका थिए । डबल राउन्ड रोबिनमा भएको प्रतियोगिताको अंक तालिकाको शीर्ष दुईमा रहँदै नेपाल र नेदरल्याण्ड फाइनल पुगेका हुन् ।

नेपालले ४ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको थियो । नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई ९ तथा दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । यता नेदरल्याण्ड ४ खेलमा २ जित र १ बराबरी खेल्दै ५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो । उसले मलेसियाविरुद्ध १ जित र १ बराबरी खेलेको थियो ।

समूह चरणमा दुई टोलीले १–१ खेल जितेकाले आजको फाइनल वास्तविक लडाईं हुनेछ ।

नेपाललाई पहिलो पटक घरेलू मैदानमा टी–२० अन्तर्राष्ट्रिय सिरिज जित्ने मौका रहेको छ । यस्तै पहिलो पटक त्रिकोणात्मक सिरिज जित्ने मौका पनि नेपालसँग छ । यसअघि नेपालले सन् २०१९ फेब्रुअरीमा युएईविरुद्ध उसकै घरेलू मैदानमा ३ खेलको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको थियो । यस्तै सन् २०१९ जुलाईमा मलेसियालाई उसैको मैदानमा दुई खेलको सिरिजमा क्लिनस्वीप गरेको थियो ।

यद्दपी त्रिकोणात्मक टी–२० सिरिज भने नेपालले अहिलेसम्म जितेको छैन ।

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अभिनास बोहरा र कमल सिंह ऐरी ।