काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले ४७ बल बाँकी छँदै पूरा गरेर ९ विकेटको जित हात पारेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमै समेटियो । सामान्य लक्ष्य पच्छ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै सहज जित दिलाए । कुशलले लगातार दोस्रो अर्धशतक प्रहार गरे । शनिबार डेब्यू खेलमै नेदरल्याण्डविरुद्ध अर्धशतक बनाएका उनले मलेसियाविरुद्ध नटआउट ६१ रनको शानदार पारी खेले ।


ADVERTISEMENT

# # #


निकैआक्रमक ब्याटिङ गरेका उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै आशिफ शेखले पनि कुशललाई राम्रो साथ दिँदै पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरे । पहिलो खेलमा नेदरल्याण्डविरुद्ध अर्धशक बनाएका उनले मलेसियाविरुद्ध ४२ रन जोडे । त्यसक्रममा उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्रसिंह ऐरी ३ बलमा १ चौकासहित ६ रनमा नटआउट रहे ।

यसअघि मलेसिया नेपाली बलरसामू निरीह साबित भयो । मलेसियाका लागि शेयद अजिजले सर्वाधिक २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीको बलमा चौथो विकेटका रुपमा आशिफ शेखबाट क्याट आउट हुनुअघि उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै सरभिन मुनियान्डीले १५ त्रलमा १ छक्कासहित २० रन तथा सफकि सरफले १३ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गरे । ३ ओभरमा १७ रन खर्चिँदै उनले ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, साहब आलम, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट हात पारे ।