पोखरा– आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।


ADVERTISEMENT


कोभिड–१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले सो ठाउँका बारेमा जानकारी लिएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामीण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताए ।

कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिकस्थलको खोजी गरेको उनको भनाई छ । बरेङको घरबासमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको उनले जानकारी दिए । उनका अनुसार, बरेङ अन्नपूर्ण हिमशृङ्खला, लालीगुराँस, भिरमौरीलगायत गुरुङ र मगर बस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा घरबास भए पनि हाल १२ वटा सञ्चालनमा छन् । पोखराबाट १० किलोमिटरमा उक्त गाउँपालिको सिमाना जोडिएको छ ।

मोदी–१ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले झिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने दाबी गरे । कोभिड–१९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको उनको अनुभव छ । वडा सदस्य भुलबहादुर पौडेले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रवर्धन गर्दै लगेको धारणा राखे । उनले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितिले यस क्षेत्रलाई थप चिनाउने विश्वाससमेत व्यक्त गरे ।

उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह, सुझाव दिनसमेत आग्रह गरे । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड–१९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामीण पर्यटनमा प्रवर्धन हुने विश्वास व्यक्त गरिन्।

यस्तै, संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सबै जुट्नुपर्ने धारणा राखेकी छिन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी तथा कार्यक्रम संयोजक रीता रेग्मीलगायतका सहभागी सदस्यले अवसरसँगै देखिएका चुनौतीका विषयमा आ–आफ्नो अनुभव राखेका थिए । कोभिड–१९ ले शान्त र प्राकृतिकस्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचिले ग्रामीण पर्यटन प्रवर्धनन हुँदै गएको उनीहरुको भनाइ थियो ।

त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुनसक्नेतर्फ पनि छलफल गरिएको थियो । नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवर्धननमा आयोजना गरिएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमितिलगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले बताइन् । रासस