काठमाडौँ – सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT


उहाँका अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भने ।


ADVERTISEMENT

# # #


स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ । जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एयरले ढुवानी गर्नेछ । चामल ढुवानीका लागि सीता एयरलाई जानकारी समेत गराइसकिएको र अबको केही दिनदेखि नियमितरूपमा चामल ढुवानी गर्ने भएको सीता एयरको सिमकोट स्टेसन सहायक इन्चार्ज सूर्य लामाले बताए ।

हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ । चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ । रासस