वाग्मति– डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा मात्रै झण्डै चार करोड मुल्य बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट हुँदा रु. तीन करोड ७० लाख मूल्यको क्षति भएको हो ।


ADVERTISEMENT

# # #


डढेलोका कारण एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । घाइते सामान्य उपचारपछि घर फिर्ता भएको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यस्तै, डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएको छ । साथै २३ गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेको छ । केही सङ्घ÷संस्थाले पीडितलाई राहत सहयोग गरेको पनि जानकारी दिइएको छ ।

यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिँचाइका पाइपमा क्षति पुगेको छ । जसकारण त्यहाँ हाल खानेपानीको समस्या देखिन थालेको छ । गत मगङ्लबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी वहृत् खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको बताइएको छ ।

त्यहाँ प्रथम धवाडी सिँचाइ, माथिल्ला धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले जानकरी दिएका छन् । अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उनले बताए । मकवानपुरगढी बृहत् खानेपानी योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उक्त बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जनाएका छन् ।

पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नं २, ३ र ४ का करिब दुई हजार घरपरिवार खानेपानीबाट प्रभावित हुन पुगेका छन् । पाइप नष्ट भएको स्थानमा नयाँ पाइप जोड्न र मर्मत गर्न समय लाग्नेछ । मर्मतसम्भार नभएसम्म पानीका वैकल्पिक उपाय खोज्न र पानीको कम प्रयोगमा जोड दिन उपभोक्ता समूहले आग्रह गरेको छ । रासस