काठमाडौँ– लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने मुख्य दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


गत चैत्र १ गते लहान मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका–५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका– ३ का २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका– ५ बाट पक्राउ गरेको थियो ।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार, अपराध ठहर गरिएका उनीहरुले आफ्नो गल्ती स्वीकार समेत गरिसकेका छन् । जानकारीका अनुसार, उनीहरुले उक्त विस्फोट जनतान्त्रिक तराई मुक्ति मोर्चाका (गोइत समूह) का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा गरेका थिए ।

विस्फोट गराउनुको कारण खुलाउँदै अभियुक्तहरुले ‘मालपोत कार्यालयले भू-माफियालाई सहयोग गरिरहेको र पटक–पटक चेतावनी दिँदा पनि सुधार नआएपछि विस्फोट गराउनुपरेको’ भन्ने बयान दिएको प्रहरीको भनाई छ ।

मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराइएको बमका छर्राका कारण आठ जना घाइते भएका थिए।

पक्राउ परेकामध्ये गिरी विगत पाँच वर्षदेखि जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) मा संलग्न सदस्य हुन् । उनी बलपूर्वक चन्दा असुलीमा संलग्न व्यक्तिमध्ये एक हुन् भने, यादव विकास ज्वेलर्स लहानमा २०७४ साल चैत ९ गते भएको बम विस्फोट मुद्दामा जिल्ला अदालतबाट एक लाख धरौटीमा रिहा भएका व्यक्ति हुन् ।

यतिमात्र नभई यादव यसअघि पनि उनी वि.सं २०७५ साल साउन ३१ गते विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । सो मुद्दामा उनी मोरङ जिल्ला अदालतबाट ३५ हजार रुपैँया धरौटीमा रिहा भएका थिए।