बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) आजदेखि राजधानी बेइजिङमा सुरु भएको छ ।


ADVERTISEMENT


बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान सो महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । उक्त महाधिवेशनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए ।

प्रत्येक पाँच वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गरे । उनले सो उद्घाटन सत्रको नेतृत्वगर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाएका थिए । राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटन लगत्तै सम्बोधन पनि गरेका थिए।

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरुमध्ये अधिकांश हिजो नै बेइजिङ आइपुगेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ । चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ ।

उक्त पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ । यो चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ । उक्त महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन् । सो महाधिवेशन बन्द कोठामा हुदैछ ।

यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

भ्रष्टाचार विरोधी लडाईं जित्नुपर्छ

यसबैची चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताएका छन् ।

सो महाधिवेशनको उद्घाटन पछि गरेको सम्बोधनमा उनले सो धारणा राखेका हुन् । उनले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट गरेका थिए ।

उनले भने– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको छु ।

त्यस अवसरमा राष्ट्रपति चिनफिङले भने– हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो हाम्रो देशको लागि ठूलो चुनौती हो भनेर सबैले बुझ्नु जरुरी छ ।

उनले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहोर्याउएका थिए । यो कुरामा उनले पहिले देखि नै जोड दिँदै आएका थिए ।

उनले सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता हो भनेर पनि सुएका थिए ।

सन् २०१२ मा राष्ट्रपति भएका सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै आएका छन् । यो महाधिवेशन पछि पनि उनी पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सिले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलब्धिबाट बुधबारको भाषण शुरु गरेका थिए । सम्बोधनका क्रममा उनले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गरे ।