– डा. विक्रान्त मेहता (एम.एस. अर्थोपेडिक)


ADVERTISEMENT


अधिकांश व्यक्तिमा देखिने साझा शारीरिक समस्यामध्ये ढाडको दुखाइ(ब्याकपेन) पनि एक हो । दैनिक जीवनमा समेत पीडा एवम् असहज स्थिति सिर्जना गर्ने यस समस्याले युवा तथा वयस्क जुनसुकै वर्गका झण्डै ८० प्रतिशत व्यक्तिलाई सताएको देखिन्छ । यद्यपि तुलनात्मक रुपमा यसले युवालाई भन्दा पनि ३०–४० वर्ष कटेका समूहमा बढी दुखाईको महशुस गराउने वा पीडा दिने गरेको पाइन्छ । यस्तै, महिला पुरुषको तुलनामा यो समस्याले पुरुषलाई भन्दा बढी महिलालाई सताउँछ ।


ADVERTISEMENT

# # #


दुखाईका प्रकारहरु
ढाड दुख्ने समस्या विशेषगरी एक्युट पेन र क्रोनिक पेन गरी दुई प्रकारका रहेका हुन्छन् । जसमध्ये एक्युट पेन सामान्य पेन किलर तथा शारीरिक व्यायामको माध्यमबाट एक्युट दुखाई ३ महिनाको अवधिमा आफैँ निको भएर जाने हुन्छ भने, क्रोनिक पेन भने व्यक्तिमा लामो समयसम्म रहिरहन्छ । यद्यपि यी दुवै प्रकारका लागि भने एक मात्र नभई विभिन्न पक्षहरु जिम्मेवार रहेका हुन्छन् । जसमध्ये निम्न पक्षहरु लाई भने यसका प्रमुख कारण मान्न सकिन्छ:

यसका कारणहरु
– उचित शारीरिक कसरतको अभाव,
– आशन(लामो समयसम्म ढल्केर/सुतेर वा बसेर काम गर्नु)
– आफ्नो शारीरिक क्षमताभन्दा गाहृो काम गर्नु,
– हाडजोर्नी तथा नशाको समस्या,
– दुर्घटना,
– मेरुदण्डको समस्या वा क्यान्सर,
– लिगामेन्टको समस्या,
– नशा च्यापिनु,
– पेट/मिर्गौला समस्या वा पिसाब संक्रमणले मेरुदण्डलाई असर पुर्‍याउँदा,
– बढ्दो उमेरका कारण महिलाहरुमा महिनावारी रोकिनु ।

लक्षण
शरीरमा कुनैपनि समस्या देखिनुअघि यसका संकेत स्वरुप विभिन्न लक्षणहरु देखा पर्छ । यसैगरि ढाड दुख्ने समस्या सुरु हुन लागेका बिरामीमा भने निम्न लक्षणहरु देखिन थाल्छ :
– दुखाई भएको भागमा तातो हुदैँ जानु,
– दुखाई विस्तारै खुट्टातर्फ सर्दै जानु,
– शरीरको भाग लाटो हुदैँ जानु,
– खुट्टा झमझमाउनु र हिड्दा खुट्टा लुलो भई प्यारालाईसिसका समेत सम्भावना हुनु ।

यसबाट बच्ने उपायहरु

रोग लागेपछि उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिनु र यसका कारणबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । तसर्थ यसका लागि हामी बेलैमा सजग हुनुपर्छ । यसका लागि विशेषगरी हामीले लामो समयसम्म एकै आशनमा नबसी समय–समयमा आशन परिवर्तन गरिरहनु पर्छ । यद्यपि बस्नैपर्ने अवस्था भएमा त्यस्तो समयमा भने अनिवार्य रुपमा लम्बर बेल्टको प्रयोग गर्ने अथवा ढाडको पछिल्लो भाग सिरानीमा अढेस लगाउनुपर्छ । यसले ढाड दुखाईको जोखिमलाई कम गर्न मद्दत गर्छ ।

यस्तै, हामीले कुनै पनि काम एकैपटक नगरी विस्तारै–विस्तारै क्रमिक रुपमा गर्ने बानी बसाल्नुपर्छ । शरीरको क्षमताभन्दा बढी र गाह्रौँ कामले पनि ढाड दुखाईको समस्या निम्त्याउँछ । उचित र अनिवार्य शारीरिक व्यायाम पनि ढाड दुख्ने समस्याको उचित समाधान हो ।

क्याल्सियमको कमीले पनि हाडजोर्नीको समस्या निम्त्याउँने भएकाले हामीले क्याल्सियमका लागि प्रशस्त मात्रामा दूध र दूधजन्य पदार्थको सेवन गर्ने र धुम्रपान तथा मद्यपानबाट टाढै रहनुपर्छ ।

उपचार

सर्वप्रथम त हामीले आफुमा के कारणले ढाड दुख्ने समस्या निम्तियो ? भन्ने कुराको पत्ता लगाउने प्रयत्न गर्नुपर्छ । कारणको पहिचानपछि त्यस कारणबाट बच्ने प्रयास गर्नुपर्छ । जस्तोः यदि दखाई चोटपटक वा ठोक्किएको कारण भएको हो भने, घरमै आराम गरी दुखाई भएको ठाउँमा आइसले सेक्दा सो दुखाई स्वतः कम भएर जान्छ । यसका लागि हल्का शारीरिक व्यायाम पनि गर्न सकिन्छ ।

यति गर्दा गर्दै पनि व्यक्तिमा ढाडको दुखाई वा असह्य पीडा हुने र दैनिकीमा समेत असहजता आएमा तुरुन्तै सम्बन्धित विशेषज्ञको परामर्श लिई आवश्यक उपचारहरु गराउनुपर्छ । यसले उक्त समस्यालाई जटिल समस्यामा रुपान्तरित हुनबाट रोक्नुका साथै व्यक्तिको दुखाईको समयावधिलाई समेत घटाउँछ ।

प्रस्तुती : सृजना मगर ।