स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ हराउने व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् । हेलु–अर्जुनचौपारी ग्रामीण सडकमा बेवारिसे अवस्थामा फेला रकम अर्यालले नगद धनी केशव भुसाललाई फिर्ता गरेका हुन् ।


ADVERTISEMENT


कामको सिलसिलामा आइतबार दिउँसो हेलु जाँदै गरेका अर्जुनचौपारी गाउँपालिकाका लेखापालसमेत रहेका अर्यालले रकमको बिटो अर्जुनचौपारी गाउँपालिका १ माटेथर कच्ची मार्गमा भेट्टाएका थिए । रकम बाँधिएको कागजमा लेखिएको भुसालको नाम र मोबाइल नम्बरबाट रकम हराउने व्यक्ति फेला पार्न र बुझाउन सहज बनेको अर्यालले बताए । नाम र नम्बरका आधारमा भुसाललाई फोन गरी प्रहरीक रोहबरमा भेट्टाएको नगद हराउने व्यक्तिलाई प्रदान गरेको उनले बताए।


ADVERTISEMENT

# # #


पछाडि बोकेको झोलामा २ लाख ३० हजार रुपैयाँ राखेर मोटरसाइकलमा हेलुतर्फ जाँदै गर्दा भुसालको रकम बाटोमा खसेको थियो । भुसालले उक्त रकम आफ्ना व्यापारी साथीलाई आईएमई गर्न जाँदै गर्दा बाटोमा खसेको र उनले भनेकै आधारमा नगद भेट्टाइएकाले भुसालको रकम निक्र्यौल भएको अर्जुनचौपारी प्रहरीका हबल्दार जनार्दन यादवले बताए ।
केही वर्षदेखि अर्जुनचौपारी बजारमा पसल सञ्चालन गर्दै आएका भुसालले रकम हराएको केही घन्टामै पाउन सफल भएका हुन् । एक इमान्दार व्यक्तिले रकम भेट्टाएका कारण पाउन सफल भएको भन्दै भुसालले अर्याललाई धन्यवाद दिए । – आजको अन्नपूर्णबाट