इलाम– आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ ।


ADVERTISEMENT


राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो ।


ADVERTISEMENT

# # #


विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएका छन् । कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको छ । कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ ।

जनगणनामा खटाइने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिनका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण यही चैत ९ देखि १५ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ । सो प्रशिक्षक प्रशिक्षणका लागि इलामबाट २० जना सहभागी हुनेछन् । उनीहरुले जिल्लामा छनोट हुने सुपरिवेक्षक र गणकलाई तालिम दिनेछन् ।

जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ । इलामका लागि मात्र १०६ सुपरिवेक्षक र ४१० गणक माग गरिएको छ । चैत ५ देखि ११ गतेसम्म कार्यालयमा उपस्थित भएर पनि आवेदन गर्न सकिने जनगणना अधिकारी कार्कीले बताए । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् ।

देशभर अहिलेसम्म एक लाख ४० हजारभन्दा बढीले आवेदन दिइसकेको तथ्याङ्क विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ । सुपरिवेक्षकले २०७८ वैशाख १३ गते दुई महिनाका लागि र गणकले जेठ १० गते एक महिनाका लागि नियुक्ति पाउनेछन् । नियुक्ति पश्चात सुपरिवेक्षकले तालिम लिएर वैशाख २६ देखि जेठ १४ गतेसम्म २० दिनको अवधिमा घर तथा घरपरिवारको सूचीकरण गर्ने र सो सूचीकरणका आधारमा गणकबाट जेठ २५ देखि असार ८ गतेसम्म १५ दिनको अवधिमा मूल गणनाको काम हुनेछ ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ ।

जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडास्तरीय जनगणना सहजीकरण समिति रहने छ । यो समितिको संयोजकमा सम्बन्धित वडाका वडाअध्यक्ष रहनेछन् ।

उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् । रासस