नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले भने, ‘राजनीतिक व्यक्तित्वमा नागरिक भावना कम हुँदै गएको छ, उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको छ ।’ बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै उनले अहिले राजनीतिमा अस्वस्थ्य लडाईं चलेको र जनअपेक्षाको उपेक्षा भएको टिप्पणी गरे ।


ADVERTISEMENT


विद्यालयस्तरमा भक्तपुर नगरले लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गरिनुपर्ने बताउँदै उनले खेलाडीले खेलकूदका माध्यमबाट देशलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए। अध्यक्ष बिजुक्छेले खेलकूद मित्रता र शारीरिक स्वस्थताका लागि अपरिहार्य रहेको बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्फत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन प्रतियोगिता आयोजना गरेको चर्चा गरे । वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईंले तीस वर्षमा शासक दलले नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या जस्ताको तस्तै रहेको भनाइ राखे । रासस