तुलसीपुर– यहाँको ऐतिहासिक ‘भोटे मेला(शिवरात्रि)’ आजदेखि शुरु भएको छ । जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । पछिल्लो समय विसं २०६१ देखि बन्द रहेको यो मेला गत वर्षदेखि दाङबासीले नै चासोका साथ पुनः सञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए ।


ADVERTISEMENT


उनका अनुसार, मेला चैत २ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । उनलेयस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनु पर्नेमा जोड दिए । यसका लागि मेलालाई परिस्कृत गरेर थप व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताए । तुलसीपुर उपमहानगरपालिका ७ स्थित पर्सेनीमा उक्त मेला लाग्ने गरेको छ ।

वडाध्यक्ष टोपबहादुर केसीका अनुसार, पहिले सार्वजनिक जग्गामा मेला लगाइने गरिएको भए पनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता छ । उनले नजिकै शवदाहस्थल तथा विद्यालय जाने बाटोसमेत भएकाले अन्य स्थानमा सार्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

सार्वजनिक जग्गामा संरचनासमेत बनेकाले अन्य स्थानमा मेलाका लागि ठाउँ खोजी भइरहेको छ । मेलामा घोडा दौड प्रतियोगितासमेत गराइएको थियो । छ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् । मेलामा १३० स्टल राख्नुका साथै बालउद्यान, मौतकी कुवा, पिङलगायत मनोरञ्जनका सामग्रीसमेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रवर्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ ।

तुलसीपुर उपमहानगरपालिका ७ कार्यालयको संरक्षकत्वमा तुलसीपुर एक्सप्रेस प्रालिले मेलाको आयोजना गरेको हो, भने सहआयोजकमा रानीघाट युवा क्लब रहेको छ ।

मेलाको इतिहास

धेरै वर्ष पहिलादेखि भोटेहरू हिमालबाट घोडा चढेर फागुनमा दाङ आइपुग्थे । उनीहरूले ल्याएका जडीबुटी, यार्सागुम्बा, कम्बल, राडीलगायत स्थानीय उत्पादन बिक्री गर्ने गर्थे । उनीहरू रात परेपछि तुलसीपुर उपमहानगरपालिका ७ स्थित पर्सेनीमा बस बस्थे । त्यही बास बसेको ठाउँ उनीहरूले आफ्ना संस्कृति झल्किने नाचगान प्रस्तुत गर्थे । जुन दिन शिवरात्रि पथ्र्यो । त्यही दिन घोडा दौड प्रतियोगितासमेत राखे । त्यही घोडा दौड प्रतियोगिता हेर्न धेरै मान्छे जम्मा हुन्थे । त्यसपछि त्यो ठूलो मेलाका रुपमा परिणत भयो ।

त्यसपछि प्रत्येक शिवरात्रिका दिन मेला लाग्ने गर्थ्यो । भोटेहरूले हिमालबाट ल्याएका सामग्रीसमेत बिक्री हुने गरेको तुलसीपुर ७ निवासी ८७ वर्षीय दोर्णबहादुर केसीले बताए । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि भोटेहरू दाङ आउन छाडे । तत्कालीन माओवादी र सरकारबीच चर्किएको द्वन्द्वका कारण भोटेहरू आउन छाडे पनि स्थानीयवासीले मेला लगाए ।

मेलामा स्थानीय संस्कृति झल्किने नाचगान गरिन्थ्यो । जिल्लाका विभिन्न ठाउँका मानिस स्थानीय उत्पादन बिक्री गर्न मेलामा आउँथे तर तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी निवासी ७६ वर्षीय खुमानन्द अधिकारीका अनुसार विसं २०६१ देखि मेला पूर्णरूपमा बन्द भयो ।

स्थानीय युवाबीच मेला लगाउने विषयले उग्ररुप लिएर झडपसमेत भएको थियो । तत्कालीन हलवार गाविसले मेला लगाउन प्रतिबन्ध गरेपछि १५ वर्षसम्म मेला लाग्न सकेको थिएन । गएको वर्षदेखि पुनः मेला लाग्न शुरु भएको छ । भोटेहरूले लगाउँदै आएको मेलामा पछिल्लो समय दङ्गालीहरूको पनि चासो बढेको देखिन्छ । कला संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिन लागिएको हो । रासस