काठमाडौँ– नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ ।


ADVERTISEMENT


सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । निर्माण शुरु भएको वर्षमा सडकको चौडाइ बढाउन नसकिएर ढिलाइ भएकामा गत आर्थिक वर्षमा कोभिड–१९ र निर्माण सामग्रीको अभावका कारण अघि बढ्न नसकेको योजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्ने भए पनि निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुन ढिला भएको आयोजनाले जनाएको छ । उनी भन्छन्; ‘एक त निर्माण शुरु नै गर्न सकिएको थिएन भने शुरु भएपछि पनि अवरोध आइरहेको छ ।’

यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएकाले पनि निर्माण अघि बढ्न नसकेको योजनाले जनाएको छ । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाको भनाई छ । लामो समयसम्म निर्माण नभए पनि अहिले उपलब्ध चौडाइमै कालोपत्र गरेर ठेक्का पूरा गर्न लागिएको उनले बताए ।

तत्कालका लागि चौडाइ बढाउन नसकिने भएकाले सरकारले काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । बीस मिटर चौडाइमा कालोपत्र गर्ने गरी पहिले ठेक्का सम्झौता भए पनि अहिले त्यसभन्दा आधा चौडाइमा कालोपत्र भइरहेको छ । ‘चौडाइ कम भएका ठाउँमा पैदलयात्रु मार्गलगायतका पूर्वाधार निर्माण गर्न सकिएको छैन; उनले भने ।

योजनाले गत वर्षहरूमा सडकको चौडाइ पर्याप्त भएको स्थानमा कालोपत्र गर्दै साँघुरा बस्ती रहेका स्थानमा कति चौडाइ कायम गर्न सकिन्छ भनी स्थानीय तहसँग समन्वय गरेको थियो । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो ।

आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस