गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलनको यतिबेला सरगर्मी बढेको छ । विभिन्न पदका लागि विभिन्न्न गैर आवासीय नेपालीहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन् । यो आठौँ विश्व सम्मेलनमा एनआरएन डेनमार्कबाट विभिन्न पदमा काम गरेका सोम सापकोटाले पनि सह कोषध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । उनको उम्मेद्वारीका बारेमा हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


गैर आवासीय नेपालीहरुको जमघट कुन रुपमा अगाडी बढिराखेको छ ?


ADVERTISEMENT

# # #


मलाई लाग्छ, गैर आवासीय नेपाली संघको इतिहासमा सबैभन्दा बढी  गैर आवासीय नेपाली साथीहरु अहिले काठमाडौँमा हुनुहुन्छ । हामी आठौ विश्व सम्मेलनको संघारमा छौँ । केही दिनदेखि यहाँ फरक खालको मोड आएको उपस्थित साथीहरुले जानकारी गराउनु भएको छ । सुरुवातदेखि अन्तिमसम्म इमान्दार र जिम्मेवार साथीहरुले यसलाई सहमतिमा एउटा नयाँ कार्य समिति चयन गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु । अहिलेको नेतृत्वलाई एकदमै ठूलो चुनौति पनि छ । त्यसैले जो उम्मेद्वार साथीहरु हुनुहुन्छ, उहाँहरुले यो विषयलाई अत्यन्तै संयम भएर समाधान गर्नेमा म आशावादी छु । प्रवासमा बस्ने हामी नेपालीहरुले नेपालमा आएर एउटा विश्व सम्मेलन गछौँ । सम्मेलनका बेला एनआरएनले अत्यन्तै पैसा खर्च गरेर तडकभडक गर्छन् भन्ने एउटा आरोप लाग्दै आएको छ । त्यसलाई पनि घटाउने र ‘एक्सन ओरिन्टेड’ हुने लक्ष्यमा हामी छौँ । यसको लागि छलफलहरु अगाडी बढिरहेका छन् । मलाई लाग्छ यो सम्मेलन अत्यन्तै भव्य रुपमा सम्पन्न हुन्छ ।

यो पटक संघको कुन पदको लागि उम्मेद्वारी दिँदै हुनुहुन्छ ? त्यसको लागि तयारी कस्तो छ ?

मैँले गैर आवासीय नेपाली संघको स्थापनाकाल देखि नै विभिन्न तह र तप्कामा अत्यन्त नजिक रहेर काम गर्ने अवसर पाएँ । आर्थिक पाटो सबल नभएसम्म् स्वास्थ्य सबल हुन्न भन्ने उद्देश्यसहित संघको सदस्य, त्यसपछि डेनमार्कको संस्थापक अध्यक्ष, केन्द्रिय सदस्य, फेरि युरोपको उपसंयोजक भएर मैले संस्थालाई एउटा ईट्टा थप्ने काममा सहयोग गरेजस्तो लाग्छ । संघलाई आर्थिक रुपमा दिर्घकालीन मजबुत बनाउनका लागि तथा आफ्नो पदीय हैसियतमा रहेर थप कार्यक्रम ल्याएर संस्थालाई अगाडी बढाउने उद्देश्य सहित विधानमा व्यवस्था भए अनुसार सह कोषध्यक्ष पदको लागि मैले उम्मेद्वारी दिएको छु ।

मलाई लाग्छ यसका लागि सम्पूर्ण साथीहरुले मलाई सहयोग गर्नुहुन्छ । म पहिले पनि युरोप क्षेत्रमा पनि निर्विरोध भएको हो । यसपाली पनि निर्विरोध हुन्छु भन्नेमा विश्वस्त छु । केही साथीहरुले उम्मेद्वारीको संकेत देखाउनु भएको छ । यो प्रारम्भिक चरण हो । अरु धेरै साथीहरु पनि आउनु होला तर म ती साथीहरुसंग कुरा राख्नसक्ने क्षमता राख्छु । जस कारण म यो पदमा निर्विरोध हुन्छु । किनभने जुन क्षेत्रमा गैरआवासीय नेपाली संघद्धले मलाई जिम्मेवारी दियो त्यसमा मैले गरेको कामप्रति सबै साथीहरु सकारात्मक हुनुहुन्छ । ती कामको मुल्याङ्कनका आधारमा म अहिलेको यो अभियानमा सफल हुन्छु भन्ने कुरामा म विश्वस्त छु ।

गैर आवासीय नेपालीहरुको अहिलेको खास मुद्दा वा माग के हो र चुनाव जित्नका लागि तपाईका एजेण्डा कस्ता छन् ?

गैर आवासीय नेपाली संघका आफ्नै किसिमका केही सुरुवात देखिका एजेण्डाहरु छन् । हामी धेरै बाहिर जान पनि मिल्दैन । आर्थिक रुपमा हामीले केही प्रोजेक्टहरुलाई परिपूर्ती गर्ने र आकस्मिक घटनाका बेला उपयोग गर्ने गरी प्रत्येक देशमा एउटा अक्षय कोषको स्थापना गर्ने व्यवस्था मैले डेनमार्कमा संस्थापक अध्यक्ष हुँदा सुरुवात गरेको काम हो । त्यसलाई अब सबै देशमा विस्तार गर्ने मेरो एउटा लक्ष्य रहेको छ । अर्को भनेको १ हजार घर बनाउने प्रोजेक्टमा केही बजेट कम छ । त्यसलाई परिपूर्ताी गर्न गैर आवासीय नेपाली संघमा आवद्ध नेपाली साथीहरुलाई म प्रोत्साहन गर्छु । त्यसैगरी हामीसंग धेरै ठूलो एउटा लिस्ट छ । जसलाई हामीले विभिन्न कालखण्डमा प्रतिज्ञा गरेका छौँ । ती पैसा उठाउन बाँकी छ र जित पछि सह-कोषाध्यक्षको रुपमा त्यसलाई अगाडी बढाउने पक्षमा छु ।

हामीले जुन प्रोजेक्ट निर्माण गर्ने प्रतिवद्धता गरेका छौँ, त्यसलाई सरल रुपमा सम्पन्न गराउने मेरो लक्ष्य रहेको छ । माग्ने र लगेर दिने मात्रै नभई संस्थालाई फरक तरिकाले अगाडी बढाउने लक्ष्यमा म छु । संस्थाको आर्थिक सबलताको लागि पनि काम गर्छु भनेको छु । त्यसको लागि मैले केही पूर्वाधारहरु तयार गरेको छु । अन्य विषयहरु जस्ता पारदर्शिताका कुराहरुमा काम गरेको एक वर्षपछि रिपोर्ट बुझाउने गछौँ । ३३ महिनामा संस्थाको रिपोर्ट पेश गर्ने पनि मेरो एउटा कार्यक्रम रहेको छ । संस्थालाई यसै अनसार अगाडी बढाउनका लागि गैर आवासीय नेपाली संघको सह कोषाध्यक्षको पदमा उम्मेद्वारी दिएको छु ।

अन्त्यमा, विश्वभरी रहेको नेपालीहरु र एनआरएनएका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

गैर आवासीय नेपाली संघ एउटा अभियान हो । हामी अहिले आठौँ विश्व सम्मेलनको संघारमा छौँ । म नेपाल आइसकेकोले सम्पूर्ण सार्थीहरुलाई स्वागत गर्न चाहन्छु । यो अभियानमा जातीय, राजनीतिक सोचभन्दा माथि उठेर गैर आवासीय नेपाली संघलाई सबैको एउटा साझा संस्थाका रुपमा विकास गर्नका लागि तपाईहरुको अत्यन्तै महत्वपूर्ण हात रहेको छ । संघलाई सबैको साझा संठगन बनाउन सबैले सहयोग गर्ने कुरामा ध्यान जावस् । हामी नेपाली रहे मात्रै  हाम्रो संस्था रहन्छ । हामी सबैभन्दा पहिला नेपाली हुन सिकौँ भन्दै यस विश्व सम्मेलनमा सहभागी हुन अनुरोध गर्दछु ।