लमजुङ– बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।


ADVERTISEMENT


नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । तीन वर्षको अवधिमा ३.६६ किलोमिटर सडक कालोपत्र गरेको उनको दाबी छ । ‘हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब रु. चार करोड खर्च भएको छ; उनले भने ।


ADVERTISEMENT

# # #


नगरपालिकाका अनुसार, गत आर्थिक वर्ष २०७६/७७ मा ०.९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो । त्यस्तै आव २०७५/७६ मा १.४७ किलोमिटर अर्थात् १४ सडक र आव २०७४/७५ मा १.५ किलोमिटर अर्थात्, आठ सडक कालोपत्र सम्पन्न भएको थियो ।

कालोपत्र सम्पन्न गरेकामध्ये आव २०७६/७७ मा रु ४३ लाख ९७ हजार ८६१ आव २०७५/७६ मा रु एक करोड ६३ लाख ८३ हजार ३१४ र आव २०७४/७५ मा रु. एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०/४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन् ।

सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आवमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ । यसका लागि चालू आवमा नगरपालिकाले रु. ५४ लाख ९८ हजार ३६९ विनियोजित गरेको छ ।

नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्ने कामको थालनी गरेको छ । रासस