पुर्बी रुकुममा सरकारी कामकाज शुरु
मेगराज खड्का, रुकुम
२४-असोज / औपचारिक रुपमा पुर्वी रुकुमले नयाँ जिल्लाको मान्यता पाएसंगै आम जिल्लावासीहरुमा खुशीयाली छाएको छ । संविधानमै रुकुम जिल्ला दुई भागमा विभाजित भएर पूर्वी रुकुम र पश्चिम रुकुम बनेपछि पुर्वी रुकुमका नागरिकहरु खुशी भएका हुन् ।


ADVERTISEMENT


साताअघि नेपाल सरकारका गृह मन्त्री जनार्धन शर्माले रुकुमकोटमा जिल्ला स्थित सरकारी कार्यालयहरु उद्घाटन गरेसगै ३ ओटा स्थानीय तह सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका मिलेर बनेको पुर्वी रुकुम जिल्लाले नयाँ जिल्लाको रुपमा औपचारिक मान्यता पाएको छ ।


ADVERTISEMENT

# # #


रुकुम जिल्लाको सदरमुकाम शुरुमा रुकुमकोटमा नै भएपनि २०३० सालमा मुसिकोटमा सारिएको थियो । जसका कारण पुर्बी रुकुमलेलीहरु सरकारी कामका लागि २÷३ लगाएर मुसिकोट आउनुपर्ने बाध्यता थियो । ४४ वर्ष पछि बल्ल दुख हटेको स्थानीय दिलकुमारी मल्ल बताउछिन । ‘पुर्बी रुकुम छुटै जिल्ला भएर रुकुमकोटमा सदरमुकाम आउदा हामी निकै खुसि भएका छौं’ उनले भनिन, ‘बिगतका दिनहरुमा पुर्बी रुकुमका जनताहरु सरकारी सेवाका लागि मुसिकोटमा धाउनुपरेर निकै दुख भयो अब त्यस्तो हुने छैन ।’

नेपालमा ७७ जिल्ला भएसंगै पुर्वी रुकुम पनि एक छुट्टै जिल्ला बन्दा सदरमुकाम रुकुमकोटमा विभिन्न सरकारी कार्यालयहरु स्थापना हुन शुरु भईसकेका छन । रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र मालपोत लगायतका सरकारी कार्यालयहरु स्थापना भएका हुन । स्थापना भएका सरकारी कार्यालयबाट सेवा दिन शुरु गरिएको पुर्बी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए ।

‘बिशेषगरी जिल्ला प्रशासन कार्यालयबाट दिईने नागरिकता लगायतका सबै सेवाहरु प्रदान गर्ने काम शुरु भैसकेको छ, अन्य सरकारी कार्यालयबाट हुने कामकाज पनि अब क्रमस शुरु हुन्छ ।’ उनले भने । सरकारी कार्यालयहरु स्थापना शुरुवातिलृ पुर्वी रुकुममा विकास निमार्णको कामले समेत तिब्रता पाउन थालेपनि अझै धेरै कार्यालयहरु स्थापना हुन बाँकी रहेका कारण आफु त्यसकै लागि खटिरहेको पुर्ब आपुर्ति मन्त्री तथा सांसाद गणेशमान पुनले जानकारी दिए ।

उनका अनुसार जिल्ला स्तरमा भएका सबै कार्यालयहरु स्थापना गर्न केन्द्रमा दौडधुप गर्ने काम जारी रहेको छ । रुकुम जिल्ला दुई भागमा विभाजन हुँदै गर्दा पश्चिम रुकुमको मुसिकोटमा महिनौ दिन आन्दोलन भएको थियो । तर, रुकुम जिल्ला बिभाजन नभई बिस्तार भएकोले पुर्वी रुकुम र पश्चिम रुकुम जिल्लालाई नमुना जिल्ला बनाइने गृहमन्त्री जनार्दन शर्माले जिल्ला स्तरीय सरकारी कार्यालय उद्घाटन कार्यक्रममा बताएका थिए ।

‘रुकुम टुक्रिएको होईन पुर्ब देखि पश्चिम सम्म बिस्तार गरिएको हो’ उद्घाटन कार्यक्रममा उनले भने, ‘यसमा हामी पहलकदमी गर्ने नेता र जनता दुबैको जीत भएको छ ।’ एउटा रुकुम जिल्ला दुई जिल्ला बनेपछि सिंगो रुकुमलाई मायाँ गर्नेहरुमाथी केहि भावनात्मक रुपमा असर परेपनि पुर्वी रुकुमका नागरिकहरुले भने साँच्चिकै गाँउमा सिंहदरबार आएको अनुभुति गरेका छन ।

यसरी सारिएको थियो रुकुमकोटबाट मुसिकोटमा सदरमुकाम
२०५२ सालपछि रुकुममा सोचे भन्दा छिटो र धेरै माओबादी फैलिएपछि यसको मुख्य कारण पत्ता पगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था यूएसएडले आफ्नो खर्चमा रबर्ट गेर्सोर्नीलाई कन्सलट्यान्ट बनाउदै एउटा अध्ययन गरेको थियो । ‘सोईङ द बिन्ड ः हिस्ट्री एण्ड डायनामिक्स अफ दि माओइष्ट रिभोल्ट ईन नेपाल राप्ती हिल्स’ शिर्षकमा २००३ मा प्रकाशित प्रतिबेदनमा माओबादी जनयुद्धको उद्गम स्थलमा बिद्रोह शुरु हुनुका बिभिन्न कारण पहिल्याईएको थियो । जसमा एउटा कारण रुकुमको सदरमुकाम परिवर्तन पनि राखिएको छ ।

पुर्बी रुकुम ७० को दशकअघि बाग्लुङ जिल्ला संग जोडिएको थियो । जसबाट त्यतिबेलाको जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट करिब ८० किलोमिटर बढी टाढा थियो । जसका कारण त्यस क्षेत्रलाई रुकुममै गाभ्न बेलाबेला माग समेत गरिएको थियो । केहि समयपछि उक्त क्षेत्रलाई रुकुममा गाभियो अनी रुकुमकोट नै सदरमुकाम यथावत भयो जसले गर्दा उनीहरु खुसि समेत भए तर खुसि लामो समयसम्म रहन सकेन, त्यसको केहि समय पछि राजपरिवार संग राम्रो सम्बन्ध भएका धुब्रबिक्रम शाहको शक्तिको प्रभाबले पश्चिमी रुकुमले दरवारलाई रिझाउन सफल भयो ।

राजपत्रमा १९७३ को अप्रिल अर्थात २०३० मा सूचना टास गरि रुकुमको सदरमुकाम रुकुमकोट बाट मुसिकोट सारियो । यस क्रममा पुर्बी रुकुमेली र पश्चिमी रुकुमेली बिच झडप पनि भएको थियो । त्यस बेला देखि पुर्बी रुकुमका बासिन्दा सदरमुकाम खलंगा देखि आक्रोसित र रुष्ट भए । सदरमुकाम रुकुमकोटमै फर्काउन त्यहाँका जनताहरुले शान्तिपुर्ण देखि हिंसात्मक आन्दोलन समेत गरे ।

राजपरिवारको निर्णय भएका कारण हजारौंको संख्यामा र हतियारसहित पुर्बी रुकुमका जनताहरुले आन्दोलन गरेको भएपनि कफ्र्यु जारी गरेर भएपनि आन्दोलनलाई दमन गरि यो । यस क्रममा एकको मृत्यु,केहि घाईते भएका थिए भने केहि आन्दोलनकारीलाई सरकारले गिरफ्तारको वारेन्टी समेत जारी गरेपछि पुर्बी रुकुम राजसंस्था बिरुद्ध लागेको थियो ।

त्यसक्रममा उक्त आन्दोलनकारी कम्युनिष्ट पार्टीको सम्पर्क गएर समस्या अझै बलियो बनेको प्रतिबेदनमा उल्लेख छ । माओबादीले पनि उनीहरुको मागलाई समर्थन गर्‍यो । जसका कारण माओबादी जनयुद्ध क्रममा देखि शान्ति स्थापना भएको लामो समयसम्म पनि पुबी रुकुम माओबादीहरुको दवदवा नै रहिरहेको छ । स्थानीय तह निर्बाचनमा पनि सिंगो रुकुममा माओबादी बिजयी भयो । पुर्बी रुकुममा ३ स्थानीय तह र पश्चिमी रुकुममा ६ स्थानीय तह रहेका छन । पुर्बी रुकुममा छुट्टै अर्को जिल्ला भएसंगै स्थानीय तहमा माओबादीले पुरै जितेको जिल्ला संख्या पनि २ पुगेको छ ।