काठमाडौ,
२५-असोज /  विनाशकारी भूकम्पमा परी ध्वस्त भएको धरहराको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले गर्न पहल शुरू गरेको छ।
भूकम्पले विनाश गरेको दुई वर्षपछि प्राधिकरण आफैले पुनर्निर्माण गर्न अघि सरेको हो। धरहरा पुनर्निर्माणका मुख्य साझेदारका रूपमा रहेको नेपाल टेलिकम उक्त योजनाबाट बाहिरिएपछि प्राधिकरण आफै पुनर्निर्माण गर्नका लागि अगाडि बढेको हो। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।


ADVERTISEMENT


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज जोशीले नेपाल टेलिकमले धरहरा पुनर्निर्माण योजनाबाट हात झिकेपछि केकसरी धरहरा बनाउने भन्ने प्रस्ताव तयारी पारी छलफलका लागि मन्त्रिपरिषद्मा पठाएको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्राधिकरण आफैले वा सरकारले तोकेको कुनै निकायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो।


ADVERTISEMENT

# # #


उहाँले धराहरा पुनर्निर्माणका लागि प्राधिकरण र पुरातत्त्व विभागलगायतका निकायसँग समन्वय र छलफल गरी निर्माण कार्य अघि बढाउने पनि बताउनुभयो।

प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बीचसमयमा आएर टेलिकमले बनाउन नसक्ने बताएपछि प्राधिकरणले पुनर्निर्माण प्रस्ताव क्याविनेटमा पठाएको र छलफलको क्रममा रहेको बताउनुभयो।

प्राधिकरण स्रोतका अनुसार काठमाडौं महानगरपालिका, पुरातत्त्व विभागलगायतका निकायले धरहरा पुनर्निर्माणका लागि पहल थालेको तर कसैले पनि पुनर्निर्माणको कार्य अघि नबढाएको तथा यसमा खासै चासो नदेखाएको कारण धरहरा पुनर्निर्माण योजना अलपत्र परेको छ।

 

कुनै पनि सरोकारवाला निकायबाट धराहरा पुनर्निर्माणका लागि पर्याप्त चासो नदेखाएपछि प्राधिकरणले पुनर्निर्माण के–कसरी गर्ने र कसलाई जिम्मा दिने भन्ने विषयमा एक प्रस्ताव तयार पारेको हो। जुन प्रस्ताव मन्त्रिपरिषद्मा अहिले विचाराधीन रहेको छ।

धराहराको पुनर्निर्माण जनताकै पैसाबाट निर्माण गर्ने लक्ष्यकासाथ तत्कालीन ओली सरकारको पालामा ‘मेरो धरहरा म आफैं बनाउछु भन्ने अभियान शुरू गरेको थियो। तर यो अभियान खासै प्रभावकारी नभएको स्रोतले जनाएको छ। यो अभियानअन्र्तगत धराहराको पुनर्निर्माणको सहयोग रकम जम्मा गर्न बैंकमा खाता पनि सञ्चालन गरेको थियो। उक्त खातामा पर्याप्त सहयोग रकम जम्मा हुन नसकेको पनि बताइएको छ।

ऐतिहासिक महत्त्व बोकेको तथा विश्व सम्पदा सूचीमा सूचिकृत धराहरा ध्वस्त भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि पुनर्निर्माणले गति पाउन सकेको छैन। विभिन्न सरोकारवाला निकायबीच पुनर्निर्माणको विषयमा सहमति र समन्वय हुन नसक्दा धराहरा पुनर्निर्माण कार्य अलपत्र परेको छ।