धुलिखेल– विभिन्न काणवश् मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिलाई निःशुल्क औषधि प्रदान गरिएको छ । आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३ सय व्यक्तिलाई चिया, रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको धुलो र औषधिलगायतका समाग्री वितरण गरिएको हो।


ADVERTISEMENT


आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौँको सामाखुशीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्ने समेतलाई करिब तीन महिना पुग्ने गरी गुर्जोबाट बनेको चिया प्याकेट र गुर्जोसहितको धुलो औषधि हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा आश्रितको मनोवल उच्च पार्न गुर्जोको चियाको र धुलो औषधि सेवनबाट उनीहरु स्वस्थ भएको अनुभूति समेत गराइएको थियो । यसैगरि, शनिबार बिहान हनुमन्ते सरसफाइ अभियान र रूद्रमती सफाइ अभियानमा उपस्थित सहभागीलाई समेत गुर्जोको चिया सेवन गराउँदै प्याकेट वितरण गरिएको थियो ।

विसं २०७७ वैशाखदेखि चलाएको गुर्जोको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ । पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जोको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ । गुर्जोको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ ।

गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ । रासस