लहान–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना७ख २१२१ नंको बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासीे ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ ।

यसैगरी सिराहा नगरपालिका–७ स्थित सडकमा ज६प ९३०८ नंको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २५ वर्षीया सरितादेवी साहको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पाँच लाखको क्षति

सिरहाको सुखीपुर नगरपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

सुखीपुर नगरपालिका–१ निवासी गेनेलाल साहको घरमा भएको आगलागीमा नगद रु एक लाख तीन हजारसहित फुसको छानो भएको एकतले दुईवटा घर, फर्निचर, सुनचाँदी तथा घरभित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेका भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासमेत जलेर नष्ट हुँदा करिब रु पाँच लाख मूल्य बराबरको क्षति भएको इप्रका, सुखीपुरले जनाएको छ ।