म्याग्दी– सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति रु १३० भाडा तिर्नुपर्छ ।


ADVERTISEMENT


बेनीदेखि तीन किमी दूरीमा रहेको बेनी–अर्थुङ्गे सडकमा प्रतियात्रु रु १०० र सात किमी दूरीमा पर्ने पुलाचौर पुग्न रु १५० का दरले भाडा तिर्नुपर्छ । डाँडाखेत, अर्थुङ्गे र पुलाचौरमात्र होइन बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रा गर्दा यस्तै चर्को भाडा तिर्नुपर्ने बाध्यता छ म्याग्दीवासीलाई ।


ADVERTISEMENT

# # #


बेनी–डाँडाखेत सडकमा चल्ने एउटा मात्र माइक्रोबस चढ्न भनेजति भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बुद्ध सार्कीले बताए । “सडक भएपछि गाडी चढ्न मन लाग्छ”, सार्कीले भने – “तर महँगो भाडादरका कारण गरिब, विपन्न गाउँलेको ढाड सेकिएको छ ।”
मर्मत र स्तरवृद्धि भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन नहुनु, नियमनकारी निकायको बेवास्ता र व्यवसायीको मनोमानीका कारण सर्वसाधारण मर्कामा परेका हुन् । जिल्लाका धेरैजसो सडकमा व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन् भने अनुगमनको अभावमा कायम भएको भाडादरसमेत कार्यान्वयन हुन सकेको छैन ।

भाडादर समायोजन र अनुगमन नहुँदा जिप, ट्याक्सी, माइक्रोबसमा यात्रा गर्दा महँगो भाडा तिर्न बाध्य भएको स्थानीय भीम तिलिजाले गुनासो गरे । “सडक पुगेको ठाउँमा गाडीले सुविधा त दिएका छन् तर भाडादर चर्को हुँदा मर्का परेको छ”, तिलीजाले भने – “सम्बन्धित निकायले भाडा निर्धारण र कार्यान्वयनका लागि अनुगमन गर्नुपर्छ ।”

यातायात व्यवसायीले भने कच्ची र जीर्ण सडकका कारण देशका अन्य ठाउँको भन्दा म्याग्दीमा स्वाभाविक हिसाबले भाडादर बढी कायम भएको र प्रशासनले तोकेको भन्दा बढी भाडा नलिएको दाबी गरेका छन् ।

जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भाडादरको विषयमा यातायात व्यवसायीसँग छलफल गरेर समायोजन गर्न पहल भइरहेको बताए ।