काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुवक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै अख्तियारको कार्यालय टुगेर राईले पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


नवनियुक्त प्रमुख आयुक्त राईलाई आयोगका सचिव सुरेश अधिकारीको नेतृत्वमा कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए । पदभार ग्रहणपछि बोल्दै प्रमुख आयुक्त राईले आयोगको साखलाई अझ उचाईमा पुर्‍याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिए । उनले आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको बताए ।


ADVERTISEMENT

# # #


प्रमुख आयुक्त राईले मुलुक र जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने तथा विगतको आफ्नो अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने कुरा उल्लेख गरे । आयोगलाई नयाँ उचाईंमा पुर्याउने विषयमा आफू सँधै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दै उनले यसका लागि सबै सरोकारवालाहरुको साथ सहयोग रहने विश्वास समेत व्यक्त गरे ।

उनले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्नेतर्फ आफू लाग्ने बताए ।

आजै नियुक्त भएको आयोगका आयुक्त किशोर कुमार सिलवाल र जय बहादुर चन्दले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदभार ग्रहण गरेका छन् ।