काठमाडौं,
१९-असोज / १० वर्षे जनयुद्धमा लागेर पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन महत्वपूर्ण भूमिका निभाएका माओवादीका नेता तथा कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । पटकपटक मन्त्री बनिसकेका माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले पनि माओवादी अध्यक्ष प्रचण्डको कदमको विरोध गर्दै पार्टी परित्यागको संकेत गरेका छन् । पार्टीको आधिकारिक नीतिविपरित पार्टी अध्यक्ष प्रचण्डले हतारमा एमालेसँग एकता गर्ने कदम चालेको भन्दै किराँतीले अब छुट्टै पार्टी गठन गर्ने उद्देश्यले भेला आयोजना गरेका छन् ।

किराँतीले बुधबार एक विज्ञप्ति जारी गर्दै मालेमावादलाई प्रचण्ड समूहले धरापमा पारेको र एमालेसँग माओवादीलाई विलय गराएकोे आरोप लगाएका छन् । पार्टी नेतृत्वको सो कदमविरुद्ध उनले केन्द्रीय आयोजक भेला घोषणा गरेका हुन् । प्रचण्ड समूहले गरेको एमालेमा विलयको विरुद्ध देशव्यापी रूपमा भण्डाफोर गर्ने योजनामा किराँती छन् । माओवादीका चार स्थायी समिति सदस्य गोपाल किराँती, मणि शर्मा, मातृका यादव र प्रभु शाहको असहमतिका बाबजुद एमालेसँग चुनावी तालमेल र पछि एकता गर्ने निर्णय गरिएको थियो ।


ADVERTISEMENT


पार्टी अध्यक्ष प्रचण्डको एकलौटी क्रियाकलापको विरोध गर्नेमा किराँती मात्र होइन, अन्य थुप्रै प्रभावशाली नेता पनि रुष्ट भएका छन् । प्रचण्डका अति निकट मानिएका वर्तमान परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुनलगायतका नेता पनि प्रचण्डको कदमबाट क्षुब्ध बनेका छन् ।


ADVERTISEMENT

# # #


माओवादीको आधारक्षेत्र रोल्पाका यी दुई नेताको त्याग र बलिदानीकै कारण माओवादीले सुरु गरेको जनयुद्ध १० वर्षसम्म चल्न सफल भएको जानकारहरूको भनाइ छ । पार्टी अध्यक्ष सत्तास्वार्थका लागि जे पनि गर्न तयार भएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

स्थानीय तहको निर्वाचनमा रोल्पामा माओवादीले एकलौटी स्थान ल्याउन नसकेका कारण प्रचण्ड यी दुई नेतासँग टाढिएको र रुकुममा प्राप्त सफलताका कारण जनार्दन शर्मा प्रभाकरसँग आवश्यकभन्दा बढी नजिकिएका कारण पार्टीभित्र आफूहरूको कुराको कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । अध्यक्ष प्रचण्डले आफूहरूलाई किनारा लगायन लागेको भन्दै यी दुई रोल्पाली नेताहरू सशंकित बनेका हुन् ।

महरा र पुनले औपचारिक रूपमा कुनै घोषणा नै त गरिसकेका छैनन् । तर, पार्टीको मूल्यमान्यताविपरीत गएर गरिएको तालमेल र एकता प्रक्रियाबाट असन्तुष्ट उनीहरू सकेसम्म निर्णय सच्याउन प्रयास गर्ने त्यसमा सफल हुन नसकेके खण्डमा छुट्टै पार्टी गठन गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । अर्का प्रभावशाी नेता गोपाल किराँतीले भने औपचारिक रूपमै विज्ञप्ति जारी गरेर माओवादीसँग अलग्गिने तयारी गरेका छन् ।

किराँतीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यस्तो छः
(१) माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिकसमेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरूमा विशेष आह्वान गर्दछु ।

(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरि भाटे कारबाहीको तयारी गर्न युवा साथीहरूमा आह्वान गर्दछु ।

(४) भेला आयोजक समिति गठनअघि एकपटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।

(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवं पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमर्पण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरूमा अन्यथा विचलित नहुन गम्भीर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पुनर्गठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।
-हरेक पल