बेलायत– कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता मात्रै बेलायतमा तीन नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन्।


ADVERTISEMENT


यो संगै विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३ सय ३० पुगेको छ ।


ADVERTISEMENT

# # #


गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार, शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६ सय ९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै, कोरोना भाइरसका कारण हालसम्म नेपालमा ज्यान गुमाउनेको कुल संख्या भने दुई हजार २७ रहेको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार ८ सय ५४ जना छ भने, दुई लाख ६६ हजार ४८ जना अर्थात् ९८.२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा प्रस्तुत गरिएको छ ।

सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन् ।

खोप लिएका बाट पनि अन्यलाई संक्रमण सर्न सक्ने सम्भावना उत्तिकै

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उनको भनाइ छ ।

खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा. सापकोटाले बताए । रासस