हुम्ला–जिल्ला कारागारका कैदीबन्दीले सरकारी निकायले स्वास्थ्य खर्च नबेहोर्नेप्रति गुनासो पोखेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको र औषधोपचार समेत व्यक्तिगत खर्चले गर्नुपरेको गुनासो गरेका हुन् ।


ADVERTISEMENT


सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उनलाई हालसम्म कारागार स्थानान्तरण गरिएको छैन । ‘जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरासतमा बस्नुपरेको र औषधोपचारका लागि पनि आफैँले खर्च व्यहोर्नु पर्ने बताउँदै उनले भने; ‘खेल्ने र सरसफाइदेखि अन्य सेवा सुविधा उपभोग गर्नसमेत पाएको छैन ।’


ADVERTISEMENT

# # #


कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतका लागि बनाइएका दुई कोठामा सीमित भएर बस्नुपरेको उनको गुनासो रहेको छ । उक्त क्षेत्रमा बसाइका हिसाबले सुधारगृह नभएर यातनागृह जस्तै महसुस भएको उनले बताए ।

हाल हिरासतमा विभिन्न मुद्दामा फैसला भएका छ कैदी र पाँच पुर्पक्षमा थुनुवा रहेका गरी ११ जना रहेका छन् । सो कारागार साँघुरो रहेकाले त्यहाँ कैद भएका कैदीमा आपसी सरूवा रोगको जोखिम पनि उत्तिकै रहेको छ। कारागार प्रमुख डवले रावतले कारागार स्थानान्तरणका लागि माघ ११ गते केन्द्रीय विभागमा पत्राचार गरिसकेको बताएका छन्।

‘विभागबाट परिपत्र आउनेबित्तिकै हुम्लाको कारागारमा रहेका छ कैदीबन्दी जिल्ला बाहिर तुरुन्तै स्थानान्तरण हुने छन्; उनले भने । यद्यपि, कैदीबन्दीको स्वास्थ्योपचार सन्दर्भमा पनि यदि उनीहरुले स्वयम् आफ्नै खर्चमा औषधोपचार गरेको भए पनि कारागारले सो रकम एकलौटी चौमासिक रूपमा भुक्तानी गर्ने जानकारी प्राप्त भएको छ । रासस