काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा कोरोनाविरुद्धको १० दिने खोप अभियान शुरु गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले खोप कार्यक्रमको शुरु गरेपनि उनी स्वयं आफूले भने कोरोनाविरुद्धको खोप लगाएनन् । प्रधानमन्त्रीले खोप अभियान शुभारम्भ गरेसँगै काठमाडौँका १७ सहित देशभर १२० खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।


ADVERTISEMENT

# # #


खोप अभियान शुरु गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट प्राप्त खोप अन्यका साइड इफेक्ट अन्य भन्दा कम रहेको बताए । कार्यक्रममा खोप उपलब्ध गराएकोमा भारतलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले खोप अभियानमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए ।

नेपालले गत बिहीवार भारतबाट सहयोगस्वरुप १० लाख डोज खोप प्राप्त गरेको थियो । भारतको सीरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइनेछ । खोपको पहिलो डोज लगाइएको २८ दिनपछि मात्र दोस्रो चरणमा खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । पहिलो चरणको अभियान अर्को शुक्रवारसम्म चल्नेछ भने दोस्रो चरणका लागि शुक्रवारभित्रै थप कोभिडशिल्ड खोप ल्याउने तयारी मन्त्रालयले गरेको छ ।

कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीलाई लगाउने शुरु गरिएको हो । उक्त खोप अभियानमा कोरोना संक्रमित र कोरोना निको भएकाले खोप लगाउन सक्नेछन् । मन्त्रालयले वितरण गरेको खोप कार्डमा खोपका कारण कुनै समस्या आएमा त्यसको जिम्मेवार आफै हुनुपर्ने लेखिएको छ । ‘खोप मैले राजी खुशीका साथ लिएको छु र पछि कुनै भवितव्य परी केही भएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु,’ मन्त्रालयले वितरण गरेको कार्डमा लेखिएको छ ।