हुम्ला– लकडाउनका कारण लामो समयदेखि बन्द भएका विद्यलाय पुनः सञ्चालनमा आउने भएका छन् । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको हो ।


ADVERTISEMENT


तीनवटा गाउँपालिका रहेको हुम्लामा कुल ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु गर्न लागिएको हो । ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए।


ADVERTISEMENT

# # #


गाउँ कार्यपालिकाले विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाका कार्यालयले सबै विद्यालयलाई पठनपाठनको तयारी गर्न पत्राचार गरिसकेको उनले बताउका छन् । कोरोना सङ्क्रमण विरुद्धका सामग्रीका लागि भने गाउँपालिकाले सहयोग गर्ने भएको छ ।गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए ।

बालबालिकाको अभिन्न अंग रहेको शिक्षा आर्जन गर्ने क्षेत्र नै यसरी बन्द भइ रहनु उचित नभएकोले पनि विद्यालय पुनः सञ्चालन गर्न लागिएको आचार्यको भनाई रहेको छ । ‘अन्य काम सामान्य अवस्थामा फर्किसकेपछि पनि विद्यालय बन्द रहिरहनु आफैँमा उपयुक्त नभएएको कारण पठनपाठन सुचारु गर्ने निर्णय भएको हो; उनले भने ।

यता सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेबाट पठनपाठन सुचारु हुने जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले दिएका छन् । सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले अब पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएको बेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णयमा अविभावकको सहमति समेत रहेको छ ।

यो समय हुम्लाका विद्यालयमा हिँउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भएदेखि नै पठनपाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएको होे । सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ विद्यालय रहेका छन् । पठनपाठन सुचारु हुने विद्यालयलाई सेनिटाइटर र मास्कको व्यवस्था पनि गरिने भएको छ ।

गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठनपाठन शुरु भएको भए पनि कोरोना सङ्क्रमित देखिएपछि बन्द भएका थिए । यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ विद्यालयमा पठनपाठन सुचारु भइसकेको छ । अब नाम्खा, खार्पुनाथ, चङ्खेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा भने अझैँ पठनपाठन हुन बाँकी नै छ । रासस