बाग्लुङ– विश्वाव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले खेलकुद क्षेत्रमा पनि उत्तिकै असर पारेको छ । कोभिड नियन्त्रणका लागि भएको लामो समय भएको बन्दाबन्दीका कारण बागलुङमा स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् ।
कोरोना असरकै कारण यहाँको नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘मेयर कप फुटबल’ प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष रद्द भएको छ । उनले नेपाल सरकारले खेलकूद प्रतियोगिता गर्न खुल्ला गरे पनि बागलुङ नगरपालिकाले कोरोनाको कारण नै प्रतियोगिता गर्न नसकिएको जानकारी दिए।
प्रतियोगिता गर्दा महामारी फैलिने त्रास कायमै रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनले नगरपालिकाले शहीद दिवसको अवसर पारेर आयोजना गर्ने प्रतियोगिताको मिति नजिकिए पनि यस वर्ष गर्न नसकिएको जानकारी दिए । कोरोना महामारीको जोखिम अझै रहेको भन्दै उनले अघि थपे; ‘हरेक वर्षको शहीद दिवसको दिन प्रतियोगिता आयोजना गर्ने तालिका रहेको थियो । त्यसैले यस वर्ष प्रतियोगिता गर्न गाह्रो भयो ।’ नगर प्रमुख पौडेलले प्रतियोगिता नहुनेमा मुख्य कारण कोरोना नै रहेको बताउँछन् ।
उनले नगरपालिकाले प्रतियोगितालाई गौरवको आयोजनाको रुपमा राखे पनि महामारीका बीच जोखिम उठाएर प्रतियोगिता गर्न नसकेकोमा जोड दिए। नगरपालिकामा जनप्रतिनिधि आएपछि २०७४ सालमा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर शुरु भएको थियो । नगरपालिकाले २०७५ सालमा आन्तरिक कारण देखाउँदै प्रतियोगिता नगरे पनि २०७६ सालमा खुल्ला नगरपालिकास्तरीय प्रतियोगिता आयोजना गरेको थियो ।
सो खेलको पहिलो संस्करणमा जिल्ला खेलकूद विकास समितिसँगको समन्वयमा र दोस्रो संस्करण जिल्ला फुटबल सङ्घको समन्वय रहेको थियो । विसं २०७४ मा स्याङ्जाको वालिङ नगरपालिका र २०७६ सालमा आयोजक बागलुङ नगरपालिकाले उपाधि जितेका थिए ।
नगरपालिकाले गौरवको योजनामा राखेर मेयर कप फुटबल प्रतियोगिता गर्दै आएको थियो । नगरपालिकाले प्रतियोगिता गर्नको लागि चालू आर्थिक वर्ष २०७७/७८ मा २० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । जिल्लाको काठेखोला गाउँपालिकाले पनि ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको दोस्रो संकरण सञ्चालन गर्न सकेन। कोरोना महामारीकै कारण यस वर्ष अध्यक्ष कप गर्न नसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । युवाको सहभागिता र खेलकूदको विकास गर्ने भन्दै गाउँपालिकाले गत वर्षदेखि कला, साहित्य र खेलकूदका गतिविधि एकैसाथ गर्दै आएको थियो ।
वडामा हरेक वर्ष घुम्ती खेलकूद प्रतियोगिता आयोजना गरेर आन्तरिक पर्यटन प्रबद्र्धनको लक्षसमेत काठेखोलासँग थियो । माघे सङ्क्रान्ति मेलाका अवसरमा आयोजना हुने जिल्लाको जैमिनी नगरपालिका ‘मेयर कप’ भलिबल प्रतियोगिता यो वर्ष हुन सकेन । राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगिता यस वर्ष कोरोना महामारीकै कारण हुन नसकेको जैमिनी नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाले जनाएको छ ।नगरपालिकाको सदरमुकाम कुश्मीसेरा बजारमा हरेक वर्ष लाग्ने माघे सङ्क्रान्ति मेला यस वर्ष नभएका कारण मेयर कप रोकिएको हो ।
जिल्ला सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले हरेक वर्ष आयोजना गर्ने अन्तर विद्यालय फुटबल प्रतियोगितासमेत कोरोना महामारीका कारण अनिश्चित भएको छ । बागलुङमा अन्य आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन भएका भए पनि खेलकूदका गतिविधिले भने अझै गति लिन सकेका छैनन् । रासस