ताप्लेजुङ– हिमपात शुरु भएसँगै फक्ताङलुङ गाउँपालिका–६ घुन्साका झण्डै आधा संख्या परिवार गाउँबाट विस्थापित भएका छन्। घुन्सा गाउँमा हिउँ पर्न थालेपछि जाडो छल्ने भन्दै त्यहाँका बाह्र परिवार गाउँबाट विस्थास्थित भएको हो । चिसो छल्नका लागि उनीहरु यत्रतत्र फैलिएर हाल सहज स्थानमा बसोबास गरिरहेका छन् ।


ADVERTISEMENT


गाउँमा अत्याधिक चिसो बढेसंगै गाउँ छाडेका ती परिवारमध्ये ७ परिवार काठमाडौँ, ४ परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमार अर्का एक परिवार भने इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा २८ परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताए । झण्डै आधा संख्याका परिवारले गाउँ छोडेपछि हाल घुन्सा गाउँमा १६ परिवार मात्र रहेको छ ।


ADVERTISEMENT

# # #


घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । त्यहाँ हिमाली शेर्पा समुदायको बसोबास रहेको छ । यो गाउँ समुद्र सतहदेखि साढे ३ हजार मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर नजाने, सिसाजस्तै कडा बरफ बनेर जमिरहने र पग्लिन एक महिना समेत लाग्न सक्ने शेर्पाले बताए । यद्यपि यो यसै वर्षको मात्र समस्या होइन ।

स्थानीयबासी शेर्पाका अनुसार, तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले चिसोबाट बच्नका लागि प्रत्येक वर्ष त्यहाँका स्थानीयले अस्थायी रुपमा घुन्सा छाड्ने गरेका छन् । र, केहि समयको अन्तरालमा चिसो कम भइसकेपछि उनीहरु पुनः गाउँ नै फर्कन्छन् ।

हिमाली क्षेत्र भएकाले त्यहाँ खेतीपाती नहुने भए पनि कञ्चनजङ्घा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनमा निर्भर रहेको छ । तर, यस वर्ष भने कोरोनाका कारण कञ्चनजङ्घामा पर्यटक भित्रिन सकेन। मुख्य आयस्रोत नै पर्यटन रहेकोले पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको अर्काे स्थानिय टासी तेन्जी शेर्पाले बताए । तसर्थ आर्थिक अभाव र केही चौँरी याक गोठ भएकै कारण यस वर्ष हिउँ र जाडो छल्न अन्य १६ परिवार जान नसकेको जानकारी उनले दिए।

गएका ती बाह्र परिवारले पनि सहकारीमा जम्मा गरेको बचत फिर्ता लिएर चिसो छल्नका निम्ति गाउँबाट अस्थायी रुपमा विस्थापित भएको उनले जनाए । यसैका लागि गत महिना मात्रै संरक्षण ऋण तथा बचत सहकारीबाट घुन्सा गाउँका सहकारी सदस्यहरुले रु ११ लाख बचत फिर्ता लिएको सहकारीका वित्तीय सहजकर्ता अभिषेक केदेमले बताए । रासस