काठमाडौँ — भारत सरकारले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइने गरी सरकारले योजना बनाएको छ ।


ADVERTISEMENT


‘कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् ।’ स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।


ADVERTISEMENT

# # #


केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र जिल्लास्थित भण्डारण स्थलमा पुर्‍याउने योजना रहेको विभाग स्रोतले जनाएको छ । ‘बढीमा ५ दिनभित्र जिल्लामा खोप पुगिसक्नेछ,’ स्रोतले भन्यो । खोप लगाउन खटिने व्यक्तिलाई तालिम दिन भने अझै बाँकी छ । खोप लगाउने स्थानमा पुर्‍याउनुपर्ने आवश्यक सामान पनि पठाइएको छैन ।

भारतले अनुदानमा उपलब्ध गराएको खोप एकै पटक लगाउने कि निश्चित समूहलाई दुवै डोज लगाउने भन्ने टुंगो लाग्न बाँकी रहेको बताईएको छ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिनेहरू, एम्बुलेन्स चालक र स्वयंसेविकालाई लगाएर बाँकी रहेको खोप निजामती कर्मचारीलाई लगाउने कि वृद्धवृद्धालाई भन्ने निर्णय भइसकेको छैन ।

काठमाडौंमा बिहीबार एयर इन्डियाबाट ल्याईएको खोप भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास वालुवाटारमा र विमानस्थलमै स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

बिश्वब्यापी महामारीका रुपमा रहेको कोरोना कहरको एक बर्ष बित्दा भारत सरकारको सहयोगमा भाईरस बिरुद्धको भ्याक्सिन नेपालमा पहिलो पटक आईपुगेको हो । छिमेकी देश भारतले नेपाललाई भ्याक्सिन निशुल्क उपलब्ध गराएको हो । भ्याक्सिन सहयोगसँगै नेपाल भारत सम्बन्ध थप मजबुत बनेको बिज्ञहरु बताउँछन् ।