काठमाडौँ – डा गोविन्द केसीले वीरगन्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीहरु रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेको घटनाप्रति आपत्ति जनाएका छन् ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुली गर्नका लागि विद्यार्थीको परीक्षा रोकेको आरोप लगाएका छन् ।
‘मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरु मध्ये एक निज अन्सारी प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संरक्षित मेडिकल कलेज संचालक तथा नेकपा नेता रहेको कसैबाट लुकेको छैन ।’ विज्ञप्तीमा उनले भनेका छन्, ‘उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
नियामक निकायलाई नेटेर्ने तथा अवैध असुली गर्ने कलेजहरुको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरुले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त हुनुपर्ने डा केसीको माग छ ।
डा केसीले परीक्षा छुटाएका दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, छुटेका विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन पनि माग गरेका छन् । उनले नेशनल मेडिकल कलेज लगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजहरुको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन् ।
साथै उक्त अवैध अशुली धन्दामा संलग्न कलेज संचालकलाई फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।