पूर्णप्रसाद मिश्र, काठमाडौँ  – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ। यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ।


ADVERTISEMENT


नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान (सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। वाग्मती उत्पत्ति भएकाले यो स्थानलाई वाग्द्वार भनिन्छ। भक्त प्रल्हादले एक हजार वर्षसम्म भगवान् शिवजीको तपस्या गरे।


ADVERTISEMENT

# # #


तपस्याबाट शिव अति प्रसन्न भई हाँसो प्रकट भयो। भगवान् शिवको अट्टहासले मुखबाट थुकका छिटा निस्कँदा वाग्मती प्रकट भएको किम्वदन्ती विभिन्न पुराणमा उल्लेख गरिएको छ। शिवको मुखबाट उत्पत्ति भएकाले वाग्मतीलाई शिवगङ्गा र ब्रह्म सरस्वती पनि भनिन्छ। शिवपुरीको उत्तर मुखबाट वाग्मती र दक्षिण मुखबाट विष्णुमती प्रकट भइन्।

यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला) को उत्पत्ति भएको छ। मणिचुड पर्वत (वज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ। साथै, उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भातेखुशी) र प्रभावती (नख्खुखोला) वाग्मतीमा मिसिन्छन्। वाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘वाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक एवं पूर्व सचिव विष्णुगोपाल रिसाल बताउँछन्।

गङ्गाभन्दा सयौँ गुणा पवित्र वाग्मती

कोट्कुखोला, महादेवखोला, बल्खु खोला, गोदावरी खोला, चन्द्रमती, सूर्यमती, स्यालमती, नागमतीलगायत धेरै सानातिना खोला पनि सिधै वा सहायक नदी हुँदै वाग्मतीमा मिसिन्छन्। हिमालयको काखबाट निस्केकी वाग्मती भागीरथी (गङ्गा) भन्दा सयौँ गुणा पवित्र छिन् भनी वराह पुराणमा उल्लेख गरिएको छ।

पशुपति पुराणमा भनिएको छ :

पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी।
गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले।।

अर्थात् पशुपतिको समान लिङ्ग, वाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरु छैनन्। स्कन्द पुराण नेपाल महात्म्यको हिमवत्खण्डमा वाग्मतीको महत्व बढाउनको लागि मनोहराको सङ्गम (दोभान) मा रहेको रुद्रधारा तीर्थले ठूलो भूमिका खेलेको उल्लेख छ।

शास्त्रीय मान्यताअनुसार विष्णुमतीको सङ्गम टेकु दोभान र नख्खुखोला (प्रभावती) सङ्गमको पनि ठूलो गुणगान छ। वाग्मती र नख्खुखोलाको सङ्गममा चैत्र शुक्ल अष्टमीका दिन आदिनाथलाई स्नान गराइन्छ।

वाग्द्वार, सूर्यमती र चन्द्रमती खोला मिसिने गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित हत्यामोचन घाटमा वैशाख सङ्क्रान्ति र गङ्गा दशहरा पर्वका दिन मेला लाग्छ। त्यस बेलामा गुह्येश्वरी, पशुपति, शङ्खमूल, टेकु दोभान, नख्खु दोभान र कटुवाल दहलगायत स्थानमा समेत स्नान मेला लाग्ने गर्दथ्यो। सूर्य ग्रहण र चन्द्र ग्रहणका समयमा नदी किनारमा स्नान गर्नेको भीड नै लाग्थ्यो। वाग्मती प्रदूषित भएपछि यो संस्कृति क्रमशः लोप हुने अवस्थामा पुगेको छ।

नेपाल माहात्म्य अनुसार वाग्मती तीर्थयात्रा गर्ने चलन छ । यो तीर्थयात्राको क्रम कटुवाल दहबाट शुरु हुन्छ। महिना दिन लगाएर वाग्मती किनारका तीर्थ सेतुबन्ध, वासुकी, दुर्गा, व्याघ्र, प्रभावती र वाग्मती दोभानको प्रमोद तीर्थ बल्खु दोभानमा इन्द्रतीर्थ, टेकु दोभानमा पञ्चनदी तीर्थ, टुकुचा दोभानमा कालमोचन तीर्थ, रुद्रमती दोभानमा सहोदर तीर्थ, मनोहरा दोभान शङ्खमूलमा रुद्रधारा तीर्थ हुँदै वाग्द्वारमा ब्रह्मसरस्वती तीर्थको नामले तीर्थ स्नान गर्ने परम्परा पनि लामो समय नदी प्रदूषित भएकै कारण हुन सकेन।

पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा २०७५ वैशाखदेखि वाग्मती तीर्थयात्राले छोटो रुपमा भएपनि पुनर्जीवन पाएको छ । नदीमा शुद्ध जल प्रवाहित हुँदा पानीमै टेकेर गरिने यात्रा अहिले नदी किनारमा हिँडेर गर्न थालिएको कोषका सदस्य सचिव डा प्रदीप ढकाल बताउँछन्र। वैशाख महिनामा गरिने तीर्थयात्रा २०७७ वैशाखमा भने कोरोना महामारीका कारण स्थगित गरियो।

रोगले ग्रस्त भएका, प्राण गलामा अड्किराखेका, जस्तोसुकै पापी मूर्ख पनि आफ्ना दुवै गोडा वाग्मतीको पानी चोपी ब्रह्मनालमा सुतेर प्राण छोडे योग साधनाद्वारा मात्र पुगिने शिवको गति प्राप्त हुन्छ भन्ने नेपाल माहात्म्यमा बताइएको छ। वराह पुराणमा वाग्मतीमा स्नान गरी शुद्ध हुने मानिसले मरेपछि पशुपन्छी भई जन्मनु नपर्ने र स्नान गर्नेको कूल पनि समृद्ध हुने उल्लेख छ।

उपत्यकाको सभ्यताको स्रोत मानिने वाग्मती नदीमा फोहर फाल्ने प्रवृत्तिले नदी फोहर बन्दै गएको हो। विसं २०३० पछि वाग्मतीमा फोहर फाल्ने प्रवृत्ति बढ्दा ढलमतीमा परिणत भयो। यसलाई सफा गर्ने महाअभियान ४० वर्षपछि विसं २०७० जेठ ५ गते शुरु भयो। यसअघि कृष्णदास मानन्धर र हुतराम वैद्यले एक्लै भए पनि वाग्मती सफाइ शुरु गरी जागरण थालेका थिए।

यो महाअभियानले वाग्मती सफाइमा सबै जुटे सफा हुनसक्ने सन्देश दिएको छ। सफाइ महाअभियानले आजैदेखि ४०० औँ हप्ता पूरा गरेको छ तर वाग्मती कहिले पूर्णरुपमा सफा हुने हो र यसको किनारका संस्कृतिले पुनर्जीवन पाउने हुन् भन्न सकिने अवस्था छैन।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख प्रा डा वीणा पौडेल पहिले वाग्मतीमा प्रणाम गर्ने गरे पनि हाल प्रणाम गर्ने हातले नाक थुनेर हिँड्नु परेको बताउँछन्। “मानिसमा धर्मको आस्था घटी चेतना पनि नहुँदा सभ्यताको स्रोत वाग्मती फोहर बनेको छ, लाखौँले फोहर गर्ने ठाउँमा हजारौँले सफा गरे पनि सफा हुँदैन, सबै मानिस आफ्नो स्थानबाट सफाइमा जुट्नुपर्छ”, उनले भने।

नदी सफा बनाउने उद्देश्यले नै विसं २०५२ देखि अधिकार सम्पन्न वाग्मती आयोजनाको काम शुरु भए पनि आशातीत सफलता प्राप्त हुन सकेको छैन। सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्ने होडबाजीले सफाइ महाअभियानलाई चुनौती थपेको छ। राजनीतिक संरक्षणले यो समस्या जटिल बन्दै गएको छ।

राजधानीको सभ्यताको स्रोत तीर्थैतीर्थले युक्त वाग्मती

उद्गमस्थल वाग्द्वारदेखि उपत्यका बाहिरिने चोभार कटुवाल दहसम्मको वाग्मतीमा अनगिन्ती तीर्थस्थल भए पनि सिधै ढल मिसाइ फोहर फाल्ने केन्द्र बन्दा संस्कृति मासिंदै गएको छ। वाग्मतीका सहायक नदी मिसिने दोभान, घाट र नदी किनारका विभिन्न तीर्थस्थलमा लाग्ने मेला, पर्व जात्राका विषयमा पछिल्लो पुस्ता बेखबर छ।

कटुवाल दहदेखि वाग्द्वारसम्म गरिने एकमहिने वाग्मती यात्रा त अब एकादेशको कथाजस्तै बन्न पुगेको छ। प्रत्येक दिन वाग्मतीको जलले स्नान गराइने पशुपतिनाथ मन्दिरमा यो परम्परा तोडिएको पनि २८ वर्ष पुगेको छ।

पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि गरेका पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव डा गोविन्द टण्डन विसं २०४९ देखि पशुपतिनाथ मन्दिरमा वाग्मतीको जलले स्नान गराउने परम्परा अन्त्य भएको बताउँछन्।

“वाग्मती फोहर बन्दै गएपछि विसं २०४९ मा भष्मेश्वरको पश्चिमपट्टि इनार खनेर हाल त्यही जलले पशुपतिनाथमा स्नान गराइन्छ, नदी फोहर हुँदा यहाँको संस्कृति र संस्कारमा प्रभाव परेको छ, पशुपतिनाथमा वाग्मतीको शुद्ध जलले स्नान गराउने मुख्य उद्देश्यले नै अधिकार सम्पन्न वाग्मती आयोजनाको गठन भएको हो”, उनले भने।

वाग्मतीको पानी जति खानेपानीका लागि उपयोग गरिँदा नदीमा पानी नहुने र हालिएको ढल मात्र बग्नु फोहर बन्नुको मुख्य समस्या हो। उत्तर काशीका नामले समेत परिचित वाग्मतीमा स्नान गरेमा धर्म, अर्थ, काम र मोक्ष पाइने पशुपति माहात्म्यमा वर्णन गरिएको छ।

शारीरिक र मानसिक दुवै शान्तिका लागि शिवपुरी लेकबाट प्रवाहित वाग्मतीको पानी उपयुक्त मानिने प्राचीन परम्परा छ। वाग्मतीको पानीलाई पुरानै स्वरुपमा फर्काउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थानमा बाँध बनिरहेको छ। आगामी वर्षादेखि बाँधमा आकाशबाट परेको पानी जम्मा गरी हिउँदमा पनि बगाउने लक्ष्य राखिएको छ । यसपछि नदीमा शुद्ध पानी प्रवाहित हुने आशा गरिएको छ। रासस