नेपाली कांग्रेसका युवा नेता राजीव विक्रम शाहसँग समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानी :


ADVERTISEMENT


पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई कसरी नियाली रहनु भएको छ ? एउटा युवा नेताको रुपमा यो अवस्थामा काग्रेस अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?


ADVERTISEMENT

# # #


कांग्रेस एउटा लोकतान्त्रिक व्यवस्थामा हिंड्ने पार्टी हो । अहिले लोकतन्त्र नै धरापमा छ जस्तो लाग्छ । जनता पनि पीडामा छन् । यो कदमले देशलाई नै अन्योलमा पारेको छ । देशमा संवैधानिक संकट निम्तिएको छ । कतिपय कांग्रेसका साथीहरुले नेकपा फुट्दा हामी फाइदा हुन्छ । चुनावमा गयो भने हामी पहिलो पार्टी बन्छौँ भनिरहनु भएको छ । तर म यस्तो परिस्थितिले कांग्रेसलाई फाइदा पुर्‍याएको छ म भन्न सक्दिनँ । किनभने भोलि चुनाव भएन भने के गर्ने ? परिस्थित बिल्कुल फरक भयो भने के गर्ने ? अर्कोतिर, संसद पुनर्स्थापना भयो भने प्रचण्ड र माधवकै नेतृत्वमा सरकार बन्ने हो । त्यस्तो भयो भने निर्वाचनको अवधि दुई वर्षछ, उहाँहरुले तीन वर्ष लम्बाइदियो भने पनि समस्या हुन्छ । यस्तो परिस्थितिमा कांग्रेस कहाँ जाने हो र लोकतन्त्र कहाँ जाने हो ? यस हिसाबले देश अहिले नाजुक परिस्थितिमा छ । लोकतन्त्रवादीहरुका लागि यो एक ‘खराब सपना’ जस्तै भएको छ । यसलाई हल गर्नका लागि कांग्रेसको आफ्नै एजेण्डा हुनुपर्छ ।

कांग्रेसलाई अब जनताको बीचमा लैजानु पर्छ । त्यसो भयो भने हाम्रो आफ्नै मार्गदर्शन निक्लिन्छ । त्यसपछि आइपर्ने जुनसुकै परिस्थितिलाई हामीले सामना गर्नसक्छौँ ।

आफ्नै एजेण्डा भनेको के ?

त्यो भनेको कांग्रेस एक भएर, मजबुत भएर, कसैको व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, कसैलाई राष्ट्रपति दिन्छु वा अरु केही पद दिन्छु भन्ने कुरामा नलोभिएर लोकतन्त्रको हितलाई ध्यानमा राखेर, जनताको उन्नतीका लागि सोच्नका लागि आफ्नै एजेण्डा बनाउनु पर्छ । धेरै समय भयो कांग्रेसले पहाडमा कम्युनिस्टको एजेण्डा बोकेर हिंडेको र मधेशमा अन्य दलका एजेण्डा बोकेर हिंडेको । अब हामीले आफ्नै एजेण्डा बनाउनु पर्छ । यसका लागि म कांग्रेसका सबै साथीहरुलाई आग्रह गर्छु । कांग्रेसलाई अब जनताको बीचमा लैजानु पर्छ । त्यसो भयो भने हाम्रो आफ्नै मार्गदर्शन निक्लिन्छ । त्यसपछि आइपर्ने जुनसुकै परिस्थितिलाई हामीले सामना गर्नसक्छौँ ।

उसो भए यदि संसद पुनर्स्थापना भइहाल्यो भने पनि कांग्रेस सरकारका जानु हुँदैन ?

जनताले कांग्रेसलाई ५ वर्ष अर्थात अर्को निर्वाचन नभएसम्म प्रमुख प्रतिपक्षका रुपमा नै भूमिका निभाउन जनादेश दिएका छन् । सोही अनुसार कांग्रेसले आफूलाई राख्नु पर्छ ।

वर्तमान परिस्थितिले निम्त्याएको लोकतन्त्रमाथिको खतरालाई पार लगाउन कांग्रेस अब कसरी अघि बढ्नुपर्छ ?

अब वडा, पालिकादेखि जिल्लास्तरसम्म आन्दोलनको घोषणा गरेर मात्रै होइन, पार्टीको संयन्त्रहरुलाई लगेर वडा, पालिका र जिल्लामा हामीले अभियान चलाउनु पर्यो । अभियान के भनेर भन्दा लोकतन्त्र नै धरापमा छ, यसबारे कांग्रेसले चिन्ता गरेको छ । जनताको मागहरु पनि पूरा भएको छैन । कम्युनिस्टहरुले सपना मात्रै देखाए । कांग्रेस धेरै सत्तामा बसेको, भ्रष्ट पार्टी भने पनि यो तीन वर्षमा के छर्लंग भयो भने कांग्रेसभन्दा महाभ्रष्ट त कम्युनिस्ट पो रहेछ । यो कुरा जनताका बीचमा लगेर हाम्रो संगठनलाई ‘ग्रासरुट’मा बलियो बनाउनु पर्छ । त्यस्तो भयो भने हामी यो चुनौतिलाई पार लगाउन सक्छौँ ।

कतिपयले नेकपाको विभाजनसँगै यसको प्रभाव कांग्रेसमा पनि पर्न थालेको विश्लेषण गरेका छन् । चुनावको बेला नेकपाको विभाजनले कांग्रेसलाई कत्तिको प्रभाव पार्ला ?

कांग्रेस एक हुनुको विकल्प नै छैन । अहिले व्यक्तिगत स्वार्थमा, व्यक्तिगत लाभका कुराहरुमा अल्झियो भने त्यसले कांग्रेसमात्रै होइन, लोकतन्त्रका लागि समेत हित गर्दैन । कांग्रेसले लोकतन्त्र, देश र पार्टीको विचार र सिद्धान्तको फाइदा हेर्नुपर्छ । यसबारे नेताहरुले सोच्यो भने हामीले निकास पाउँछौँ ।