काठमाडौँ– नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


सोही अवसरमा उनी असंलग्न अन्दोलनमा सहभागी मुलुकका (जि ७७) मन्त्रिस्तरीय बैठकमा सहभागी भए । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले असंलग्न आन्दोलनमा नेपालको आधिकारिक धारणा प्रस्तुत गर्दै विश्वमा देखिएका मतभिन्नतालाई वार्तामार्फत सुल्झाउनुपर्ने बताए ।

त्यसलगत्तै उनी ‘भियना कार्यक्रमको कार्यान्वयनमा गतिशीलता तथा दिगो विकासका लागि २०३०’ भन्ने मुख्य मुद्दामा आधारित भूपरिवेष्टित विकासशील मुलुकको १६औँ वार्षिक मन्त्रिस्तरीय बैठकमा सहभागी भए । बैठकमा परराष्ट्रमन्त्री महराले अन्तर्राष्ट्रिय व्यापारमा एलएलडिसीको अर्थपूर्ण सहभागिताका लागि अन्तर्राष्ट्रिय सहयोगको मापन आधिकारिक मात्र नभई साझेदारी, प्रविधि हस्तान्तरण र लगानीमा पनि वृद्धि गर्नुपर्ने बताए ।

त्यसपछि उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आयोजना गरेको संयुक्त राष्ट्र संघको शान्ति स्थापनासम्बन्धी उच्चस्तरीय खुला बहसमा भाग लिए ।

सो बैठकलाई सम्बोधन गर्दैै उनले नेपाल शान्ति स्थापनार्थ सेना तथा प्रहरी पठाएर सहयोग गर्ने विश्वकै छैटौँ ठूलो मुलुक भएको बताए । परराष्ट्रमन्त्री महराले शान्ति स्थापनामा खटिएकाहरुको सुरक्षा र नागरिकको सुरक्षाको जिम्मेवारीमा उनीहरुलाई प्रभावकारी बनाउन तथा सार्वभौमिक अखण्डतामा कुनै अतिक्रमण नगरीकन सुरक्षाको प्रतिबद्धता प्रदान गर्ने उच्चस्तरीय प्रतिवेदनको कार्यान्वयनमा पुनः प्रतिबद्धता व्यक्त गरे ।

सोही दिन उनले दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागीता जनाए । सो बैठकमा मन्त्री महराले दक्षिण–दक्षिणको सहकार्यबाट मुख्यगरी नवीन कार्यको खोजी तथा सन् २०३० को रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने धारणा राखे । त्यस अवसरमा उनले बंगलादेशका प्रधानमन्त्री, इथोपियाका राष्ट्रपतिलगायत अन्य मुलुकका नेतासँगै ‘साउथ–साउथ एक्सन’ नामक प्रकाशनको विमोचन गरे ।

सोही अवसरमा अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले सहमतिपत्रमा हस्ताक्षर गरे । योसँगै नेपालले विश्वका १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

यसै अवसरमा परराष्ट्रमन्त्री महराले ओमानका विदेशमन्त्री युसुफ विन अलावी विन अब्दुलाहसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभाकै क्रममा उनीसंग बेलायतका एशिया प्रशान्त हेर्ने राज्यमन्त्री मार्क फिल्डले शिष्टाचार भेट गरे । सो अवसरमा द्विपक्षीय चासो र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा भाग लिन आएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका विभिन्न मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।