काठमाडौँ – नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।


ADVERTISEMENT


यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालिएको विभागले जनाएको छ । नयाँ अनुमतिपत्रका लागि ‘सफ्टवेयर’ र छपाइको काम विभागले गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण गर्छन् । अहिले प्रदेश सरकारले अनुमतिपत्रका लागि परीक्षा लिन चाहेकाले आवेदन खुलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार सात वटै प्रदेशले नयाँ अनुमतिपत्र खुलाउने भएका छन् । उनले भने, “सेवाग्राहीले आफ्नो अनुकूल मिलाएर अनलाइनमार्फत फारम भरेर परीक्षामा समावेस हुन सक्नुहुन्छ ।”


ADVERTISEMENT

# # #


एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले मङ्गलबारदेखि फारम लिन थालिएको भए पनि केही दिनपछि मात्रै परीक्षा लिइने बताए । कोभिड–१९ को जोखिम कायम रहेकाले भीडभाड कम हुने गरी लिखित र प्रयोगात्मक परीक्षा लिइने उनको भनाइ छ । उनले भने, “एक दिनमा निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाइनेछ ।”

कार्यालयले गत चैतदेखि नै नयाँ अनुमतिपत्रका लागि परीक्षा लिएका थिएनन् । यसबीचमा पनि अनुमतिपत्र नवीकरण र वितरणको काम भने भइरहेको थियो । लामो समयसम्म अवरुद्ध सेवा एकै पटक खुलाउँदा भीड हुने भएकाले निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाउन लागिएको हो ।