– भेषबहादुर थापा, भारतका लागि नेपालका पूर्वराजदूत

नेपाल-भारत सम्बन्धको तथ्यलाई कसरी व्याख्या गर्नुहुन्छ ?


ADVERTISEMENT


भारत नेपालका लागि भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबै हिसाबले सबैभन्दा नजिकको छिमेकी हो । सञ्चार, व्यापार, आवातजावत आदि सबै कारणले नेपालका लागि भारत पहिलो मित्र राष्ट्र हो । त्यसैले पनि भौगोलिक कारणले नजीक भएर मात्रै नभएर सामाजिक कारणले पनि यो सम्बन्ध अझ गहिरो छ ।


ADVERTISEMENT

# # #


तर यो हुँदाहुँदै पनि नेपालको इतिहासमा पृथ्वीनारायण शाहले गोरखा छाडेर एकीकरणका क्रममा काठमाडौँ पुगिसकेपछि यी दुईबीचको सम्बन्ध नजिकिने कारण मजबुत हुँदै गएको थियो । त्यो बेलाको रीति नै त्यस्तै थियो, अँग्रेजहरुले भारतमा अखडा जमाएका थिए । उपनिवेशको बेला थियो । त्यो बेलामा किल्ला काँगडासम्म पुगेर राज्य विस्तार गरेको क्रममा नेपालको स्वरुप ठूलो थियो । सुगौली सन्धी र जंगबहादुरले भारतसँग गरेको सिपाही सम्झौतापछि प्राप्त नेपालको जति भूगोल छ त्यति मात्र नभएर त्यो भन्दा पहिले नै हाम्रो रहनसहन, हाम्रा सांस्कृतिक मूल्यमान्यता समान भइसकेका थिए ।

उत्तरतर्फ हिमाल भएको र दक्षिणतर्फ खुला सिमाना भएका कारण इतिहासदेखि आजसम्म सामाजिक सामिप्यतादेखि आर्थिक क्रियाकलाप लगायतका कारण भारततर्फ नेपालको सम्बन्ध अझ बढी आत्मीय छ ।  

भारत र नेपालको सम्बन्धको कुरा गर्दा सामाज्य्र हुँदा झुकाएर होस् वा फकाएर होस् साम्राज्य विस्तार गर्ने वा टिकाउने गरिन्थ्यो । नेपालमा जंगबहादुर उदय भएपछि उनको परिवारले शासन गरुन्जेल लामो समयसम्म पनि त्यो बेलाको कुटनीति सिमा रक्षाका लागि कि लड्ने कि फकाउने भन्ने थियो ।

भारत स्वतन्त्र भएपछि र नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि सहकार्यको गम्भीरता बढेको देखिन्छ ।

नेपालको आधुनिक सम्बन्ध शुरु भएको राणाकालको अन्त्य पछि नै देखिन्छ । त्यसपछि संयुक्त राष्ट्र संघसँग सदस्यता लिएर विस्तारै विभिन्न मुलुकसँग पनि सम्बन्ध बनाउँदै आफू विश्वव्यापी रुपमा देखिने सङ्कल्प नेपालले गर्यो । त्यसपछि भारतसँग मात्र नभएर अन्य देशसँग पनि सहकार्य र सहभागिता बढ्दै गयो । अहिले नेपालको एकप्रकारले अन्य देशसँग पनि सम्पर्क बाक्लिदै गएको छ ।

तर पनि  नेपाल भारतबीचको निकट, अन्योन्याश्रित र अतुलनीय सम्बन्धको तुलना अन्य कुनै पनि देशहरुसंग हुन सकेको छैन, र हुँदैन पनि । यसरी नेपाल भारतको सम्बन्ध विश्वमै बेजोड छ, हामीले यस्को फाईदा लिन सक्नुपर्छ ।

कुन कुन आयामहरुका कारण नेपाल भारतको सम्बन्ध बेजोड छ भन्नुभएको हो ?

सबैभन्दा महत्वपूर्ण त भौगोलिक सम्बन्ध नै हो । नेपाल भूपरिवेष्ठित राष्ट्र भएको तथा पूर्व, पश्चिम र दक्षिणमा खुला रुपले भारतसँग भौगोलिक रुपले जोडिएकाले नेपाल भारत सम्बन्धमा धेरै नै निकटता जोडिएको छ । सामाजिक, सांस्कृतिक, आर्थिक लगायत अन्य विभिन्न आयामहरुले नेपाल भारत एक आपसमा अन्योन्याश्रित सम्बन्धका साथ जोडिएका छन् । खुला सिमाका कारण वारिपारि रोजगारीका क्रममा आवतजावत हुने गरेको छ । आर्थिक कारोवारमा पनि भारत जत्तिको सहज बजार अन्य मुलुक बन्न सकेको छैन । प्राकृतिक नदीनालाका कारण पनि साझा रुपमा नेपाल भारतको सम्बन्ध नजिक छ । जसकारण आवतजावत, सामाजिक संरचना, खुला सिमाना आदिका कारण नेपाल भारतको सम्बन्ध सबै प्रकारले नजीकको बन्न पुगेकोले बहुआयामिक छ ।

भारतसँग हाम्रो सम्बन्ध त बहुआयामिक छ । यो सम्बन्धलाई हामीले सदुपयोग गर्न सकिरहेका छौं त ?

पहिले खुला सिमाना थियो आवतजावत थियो रोकतोक थिएन । राणा कालको अन्त्यसँगै नेपाल आधुनिक प्रशासनको व्यवस्थामा प्रवेश गरेको देखिन्छ । त्यसपछि भारत–नेपालबीचको सम्बन्ध सन्धी, सम्झौता र सहमतिका जगमा उभिएकाले अझ व्यवस्थित र व्यवहारिक भएकाले आवश्यकता अनुसार सहयोग आदानप्रदान भएका छन् ।

भौगोलिक अखण्डता र आफ्नो क्षेत्रभित्रको प्रकृतिक स्रोतको सदुपयोग जस्ता सार्वभौमिक स्वामित्वका कारण यी सम्बन्धलाई प्रयोग गरेर सहयोग लिन सकिने सम्भावनाका क्षेत्र पनि धेरै छन् ।

जहाँसम्म क्षेत्रफल, जनसंख्या र आर्थिक समृद्धिका हिसाबले भारतको आफ्नो बल, क्षमता र महत्वकांक्षा छ त्यो आफ्नो ठाउँमा छ ।

विश्वमा नै शक्तिकेन्द्रका रुपमा भारत उदाउँदै गएको छ, उसको महत्वकांक्षामा हामीले सद्भाव देखाउने कुरा आफ्नो ठाउँमा छ र भारतले जे जति सहयोग गरिरहेको छ यसबाट लाभान्वित हुने हिसाबले नेपालले सोच्नुपर्छ । 

कुन कुटनीतिका साथ अघि बढ्यो भने भारतसंगको सहकार्य नेपालका लाई फाईदाकर हुन्छ ?

यो निरन्तर चलिरहेको अभ्यास हो । नेपालले आफूलाई भारतसंगको सम्बन्धबाट बहुआयामिक रुपमा नै भरमग्दुर फाईदाहुने गरी सम्बन्धको उचाई टिकाईरहन प्रयत्न गरिरहनु पर्दछ । आफ्नो राष्ट्रिय स्वार्थ जोगाउने, त्यसलाई प्रर्वद्धन गर्ने र बचाउने जिम्मेवारी नेपालीको हो, विदेशीको होइन । नेपाल भारतको सम्बन्धमा राष्ट्र राष्ट्रको बीचमा सार्वभौमिक रुपमा समानताका लागि जुन प्रयास हुनुपर्थ्यो त्यो नभएका होइनन् ।

अत्यन्तै निकट सम्बन्धमा कहिलेकाहीँ गोडा लाग्नु स्वभाविक विषय हो । यस्ता विषयहरुलाई दुई पक्षीय कुटनीतिक समाधानको बाटोबाट हल गर्दै सम्बन्धको गरिमा जोगाई राख्नुपर्दछ ।

नेपालमा भारतका सन्दर्भमा फैलाईने नकारात्मक विषयहरुले चाहीँ दुई देशबीचको सम्बन्धलाई कस्तो असर पुर्याईरहेको हुन्छ ?

सामान्यतया सम्बन्धमा उतारचढाव हुन्छ नै । यो कुनै नौलो कुरा पनि होइन । नेपाल र भारत, नेपाल र चीन, नेपाल र अमेरिका जस्तो भन्ने मात्र होइन यो विश्वव्यापी रुपमा अन्य देशहरुमा पनि हुन्छ । त्यो भिन्नै कुरा हो । व्यक्ति र आस्थाको कुरा गर्नुपर्दा पनि कसैलाई कोही मन पर्ला कसैलाई कोही यो सामान्य कुरा हो ।

राष्ट्रिय स्वार्थ भनेको चाहिँ कुनै समूहको विद्रोहले नकारात्मक प्रभाव पार्दैन । जनमानसको भावना र प्राकृतिक सम्पदा त हाम्रा संवैधानिक अधिकारकै कुरा हुन् ।

एक किसिमले खोलानालाले बनेका सिमाना, खुला नाका लगायतका कारण भारत नेपालबीचको सम्बन्धमा उतारचढाव धेरै छ ।

भारतसंगको सम्बन्धलाई चीनले स्थान लिनै सक्दैन । हिमालले ढाकेको हाम्रो उत्तरी छिमेकीसँगको सहकार्य, आर्थिक, सामाजिक लगायत विभिन्न सहयोगका लागि ठूलो भौगोलिक कठिनाइ छ ।

तर दुई देशका बीचमा असमान धारणा भने अहिले मात्र नभएर धेरै पहिले देखि भइरहेका कुरा हुन् । यो कुनै अस्वभाविक पनि होइन । यसलाई निरन्तर सुधार गर्दै जानुपर्ने कुरा हुन्, जसका प्रयास भइरहेका पनि छन् । बेला बेला असन्तुष्टिका कुराहरु हुँदाहुँदै पनि नेपालले आफ्ना विचारलाई अगाडि राखेको छ, लुकाएर बसेको छैन । विभिन्न वार्ताका माध्यमबाट होस् वा उच्चस्तरीय भ्रमणका माध्यमबाट नेपालले आफ्नो पक्षका कुरा राखिरहेकै छ । भारतले पनि आफ्ना कुराहरुलाई दुई देशबीचको सम्बन्धको उचाईबाट हल गर्ने भन्ने प्रतिबद्धता राखिरहेकै हुन्छ । वार्ता, सहमति र सम्झौताका आधारमा अघि बढेर दुई देशका सन्दर्भमा उठ्ने नकारात्मक भावनाहरुलाई हटाउँदै सम्बन्धको रफ्तार बढाउनु नै पर्छ ।

नेपालका विषयमा भारतले गहिरो ढँगले चासो राख्ने गर्छ भन्ने आरोपलाई कसरी हेर्नुभएको छ ?

भारतले त्यो चाहना प्रकट गर्नु अस्वभाविक होइन । कुनै पनि मुलुकले आफू बलियो भएर प्रभाव कायम राख्न खोज्नु खराब होइन ।

अझ जति बढि बहुआयामिक सम्बन्ध हुन्छ, त्यति नै नेपालको विषयमा हुने उतारचढाब र परिवर्तनहरुको असर भारतलाई पनि हुने गर्छ । तर यस्बाट हुने समस्यामा नफस्न र त्यसबाट बाहिर निस्किने जिम्मेवारी नेपालको हो । त्यसमा नेपाल पछि परेको छैन ।

२००७ सालदेखि अहिलेसम्म विभिन्न सरकार आए । तर भारतप्रतिको चिन्तनमा हेरफेर भएको देखिन्न । किनकि त्यसको पछाडि जनताको एक मत छ । हस्तक्षेप बढ्यो भन्ने लाग्छ भने नेपाल आफै सचेत हुनुपर्छ । कुटनीतिक तरिकाले समस्याहरु छन् भने समाधान गर्नुपर्छ । तर अनावश्यक प्रचारबाजी र नकारात्मक सोचहरुबाट मुक्त हुँदै दुबै देशको आ-आफ्नो स्वाभिमानलाई सम्मान गर्दै अघि बढ्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अहिलेसम्म नेपालको भारतसँगको सम्बन्ध कहिले लचकता, कहिले सामिप्यता र कहिले प्रतिकारका रुपमा देखिएको छ । भारत र नेपालले एकअर्कासँग सुमधुर सम्बन्ध राख्नु आफ्नै हितको लागि हो । जुन समस्याहरु छन्, ती समस्याहरुलाई कुटनीतिक तरिकाले हल गर्नुपर्छ । कुटनीति भनेको परराष्ट्र निकाय मात्र होइन । सरकारी संयन्त्रबाट बाहिर निस्किएर सञ्चार माध्यम र बौद्धिक क्षेत्र र नागरिकबाट पनि यसको काम गर्न सकिन्छ । हरेस नआई कुटनीतिक मर्यादा मालन गरेर आफ्नो लक्ष्यका लागि अघि बढ्नुपर्ने जिम्मेवारी सबैलाई छ । अहिलेका राजनीतिक दल र सरकारलाई यसको जिम्मेवारी छ । सोहीअनुसार अघि बढ्नुपर्छ ।