सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता पर्शुराम बस्नेतसँग पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद, त्यसको समाधान लगायतका विषयमा हिमालय पोष्टले कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सार :


ADVERTISEMENT


सत्तारुढ दल नेकपाले विकास र समृद्धिको एजेण्डा अघि सारेको थियो । अहिले के भयो ? 


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओली सरकारको नारा नै त्यही हो । सरकारले उद्देश्य अनुसार काम गरिरहेको नै छ ।

तर, पार्टीभित्र आन्तरिक किचलो बढेको छ एजेण्डा अनुसार काम हुन सकिरहेको छ त ?

यो अहिले जुन किचलो बढेको छ यसको कारण हार स्वीकार गर्न नसकेका कारण हो ।

नवौँ महाधिवेशनमा माधव नेपाल कम्रेड अध्यक्षमा पराजित हुनुभयो तर पराजित भएपनि अध्यक्ष बन्न पाउनुपर्छ भन्ने हठले उहाँ सम्माननीय प्रधानमन्त्रीका विरुद्धमा उत्रिनुभएको छ । प्रचण्डमा बाँचुन्जेल एकल अध्यक्ष बन्ने रहर देखिन्छ, त्यसैका कारण उहाँले विरोध गर्नुभएको छ ।

तर, पनि सरकारले काम गरिरहेकै छ । समृद्ध नेपालको नाराअनुसार प्रधानमन्त्रीले काम गरिराख्नु भएको छ । देश र जनताका लागि अहोरात्र खटिनुभएको छ । फास्ट ट्रयाकको काम, अन्तर्राष्ट्रिय एयरपोर्टको काम, दरबार हाइ स्कुल, रानीपोखरीको काम नै हेर्नुस्, अनि धरहरा पनि बन्ने क्रममा छ । कसैले भ्रम छर्दैमा प्राप्त उपलब्धि नदेखिने भन्ने हुँदैन ।

तर, नेकपाको किचलोले त देशका प्राथमिकताहरु नै ओझेलमा पार्यो भन्छन नि त ?

राजनीतिमा लागेपछि पटक पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष बनेकाहरुमा फेरि बन्नुपर्छ भन्ने लालचाले गर्दा विवाद बढेको हो । यो भनेको सगरमाथामा घर बनाएर त्यहीँ बस्छु भनेर जिद्दी गर्नु जस्तै हो । एउटा निश्चित उचाईमा पुगेपछि मान्छे फर्कनु पर्छ, भूतपूर्व हुनै पर्छ । यो उहाँहरुले बुझ्नुपर्ने हो ।

यस्तो गतिविधि देखिरहँदा तलका कार्यकर्ताहरुले के सिक्छन् ? पछिल्लो पुस्ताहरुलाई के सिकाईंदैछ ?

प्रधानमन्त्रीले महाधिवेशनपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री पुस्तान्तरण गर्छु भन्नुभएको छ । यसरी नेतृत्व हस्तान्तरण हुनु भन्दा ठूलो उपलब्धि के हुनसक्छ ? यसलाई सकारात्मक रुपले लिएर कम्युनिस्ट आन्दोलनलाई बचाउन तर्फ लाग्नुपर्छ । सुखी नेपाली समृद्ध नेपाल साकार गर्न प्रधानमन्त्री ओली निरन्तर अहोरात्र खटिनुभएको छ । राष्ट्रिय स्वाधिनता सार्वभौमिकता रक्षाका लागि निरन्तर लाग्नुभएको छ ।

अहिलेको विवादका कारण प्रधानमन्त्री ओली संसारकै राजनेताको रुपमा स्थापित हुन लागेकाले उहाँविरुद्ध घेराबन्दी भइरहेको छ । संसारभर केपी ओलीको आकर्षण बढ्दै गएकाले संसारै केपी ओलीमय हुने भयो भन्ने भयले उहाँलाई कमजोर पार्न देशी विदेशी तत्वसँग मिलेर कोठा कोठामा बसेर षड्यन्त्र भइरहेको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वशैली एकलौटी भयो रे नि त ! पार्टीमा बिना सल्लाह उहाँ अघि बढ्नु भयो भन्ने आरोप छ नि ? 

सबैका शैली आ-आफ्ना हुन्छन् । पटक पटक केन्द्रिय कमिटीले मिटिङ बसेर सरकारले उत्कृष्ट काम गरिरहेको छ भनेर अन्तर पार्टी निर्देशनमा ‘सर्कुलर’ गरिएको छ। माथिदेखि तलसम्म पार्टी भित्र सरकारले राम्रो काम गरिरहेको रिपोर्टिङ र सर्कुलर र निर्णयहरु भएका छन् । उहाँले कार्यकारी अध्यक्षसँग नसोधी केही गर्नु भएकै छैन । तर, हात बाँधेर ‘यो गर्’ ‘त्यो नगर्’ भनेपछि क्रियाको प्रतिक्रिया आउनु स्वभाविक हो । आजसम्म अरुले भने जस्तै ‘एकल’ रुपमा  प्रधानमन्त्री ओलीले कुनै निर्णय गर्नुभएको छैन ।

प्रधानमन्त्रीले भर्खरै ल्याउनुभएको अध्यादेशका बारेमा के भन्नुहुन्छ?

प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर संविधान अनुसार नै अध्यादेश ल्याउनु भएको हो । पहिले पहिलेका सरकारहरुले पनि आवश्यकता अनुसार सरकारका काम कारबाहीहरुको गाँठो फुकाउँदै अघि बढ्न पनि ल्याइएकै कुरा हो । यसको विरोध र आलोचना गर्नुको कुनै तुक छैन ।

उसो भए बताईदिनुस् न, यो कदम चाल्नुपर्ने बाध्यता चाहीँ किन आईपरेको होला प्रधानमन्त्रीलाई ? 

संवैधानिक अंगहरुमा ३ वर्ष हुँदासम्म पनि नियुक्ति किन हुन सकेन ? सरकारलाई काम नै गर्न नदिने ? अनि रोकिएका कामहरुलाई अघि बढाउन सरकार लागि पर्दा सभामुख जस्तो निष्पक्ष मान्छे पार्टी भित्रको पनि गुटको नेताले भने बमोजिम छलफलमा नै नआएर अवरोध खडा गर्ने ? अनि प्रतिपक्षीलाई समेत त्यहाँ जान नदिन चलखेल गर्ने ?

यो हिसाबले नियुक्ति प्रक्रिया हुनै नदिने अवस्थाले राज्य विहीनताको स्थिती उत्पन्न हुने भएपछि कामको सहजताका लागि अध्यादेश ल्याइएको हो । जुन वैधानिक बाटो पनि हो ।

अनि आफ्ना विरोधी नेताहरुलाई जेल हाल्ने प्रतिशोधका साथ प्रधानमन्त्रीले यो कदम चाल्नु भयो भन्ने आशंका गरिएको छ नि त ?

यो त ‘बनको बाघले खाओस् नखाओस् मनको बाघले खाए जस्तो’ भयो ।

प्रधानमन्त्री ओली त विकास र समृद्धिको यात्रामा अघि बढेर यो देशमा चाँडै रेल कुदाउने महाअभियानमा हुनुहुन्छ । यस्तो बेला अरु शीर्षस्त नेताहरुले समेत साथ दिएर देशको रेल चढ्ने पो सपना देख्नुपर्छ त ! तर यहाँ त नेताहरु ‘रेल’ होईन ‘जेल’ गएको पो सपना देखेर आफैं तर्सिन थाल्नु भयो ।

राम्रो काम सबै मिलेर गरौं न, देश बनाउनुपर्ने नेताहरु कहाँ जेल गएको सपना देखेर अल्मलिनु भएको हो कुन्नि मैले बुझ्न सकिन !

पार्टीको आन्तरिक किचलो मिलाउन तपाईं युवानेताहरुले चाहीँ कस्तो भूमिका निभाईरहनु भएको छ ?

हामीले सभा गरेरै भनिरहेका छौँ । हाम्रो भविष्यमाथि खेलबाड नहोस्, तपाईंहरुले जे जे गर्नुभयो गरिसक्नुभयो अब हाम्रो भविष्यमाथि खेलबाड नहोस् भनेर सचेत गराईरहेका छौं । कमीकमजोरीको आलोचना गर्ने गरेका छौँ ।

देश, जनता, पार्टी र हामी सबैको भविष्यका लागि सबै गम्भिर भएर एकताका साथ एजेन्डाहरुलाई सफल बनाउने अर्जुनदृष्टिका साथ काम गर्न झक्झकाईरहेका छौं । हामी युवा नेताहरु त आफ्नो भूमिकामा कटिबद्ध छौं, शीर्ष नेताहरुले समेत आफ्नो र हाम्रो समेत राजनीतिक ईज्जत र सम्मानका लागि चिन्तित भएर अघि बढ्नु पर्यो भनेर भनिरहेकै छौं ।

अन्त्यमा, पार्टी भित्रको खेल हार जितमा टुँगिन्छ कि सहमतिमा ?

विषय जित हारको होइन । खेल त देश र जनता जित्ने हुनुपर्छ, त्यसका लागि सरकारको काममा सबैले साथ दिनुपर्छ । पार्टी एकता जुन उदेश्यका साथ भएको थियो, त्यो गन्तव्यमा पुग्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ ।