काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्याउने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।” उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए । गृहमन्त्रीले भने, “सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र सङ्गठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ ।”

उनका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ ।

भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाउँदै अघि बढ्ने बताए। उनका अनुसार देशका सिमानामा ५०० बिओपी पुर्याइने छ । बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराएका थिए । सो बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ । रासस