काठमाडौँ – साधना कला केन्द्रले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता ‘साधना अनलाइन ट्यालेन्ट हन्ट सिङ्गिङ कम्पिटिशन’को दोस्रो संस्करण आजदेखि प्रशारण हुने भएको छ । प्रतियोगिता मिथिला टेलिभिजनमार्फत प्रत्येक शुक्रवार र शनिवार राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुन लागेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT


सांगीतिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरेको थियो । कात्तिक १४ गतेसम्मका लागि अनलाइनमार्फत भिडियो मागिएकोमा उक्त ट्यालेन्ट हन्टका लागि १४० जना प्रतिस्पर्धी सहभागी भएका छन् । तीन महीनासम्म चल्ने उक्त शोमा संगीत तथा भाषाविद्हरु डा कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधरको एक विशिष्ट निर्णायक मण्डलले सुरुमा १ सय जना प्रतियोगीहरु छनोट गर्नेछन् । विभिन्न ५ राउन्डमा सम्पन्न गरिने उक्त कार्यक्रमबाट उत्कृष्ट १० जना प्रतियोगीहरु छनोट गरी अन्तीममा उत्कृष्ट दश जनामध्येबाट दर्शक तथा श्रोताहरुको ५० प्रतिशत र निर्णायकहरुले प्रदान गर्ने ५० प्रतिशत नम्बरको आधारमा विजेताको छनोट गरिनेछ ।


ADVERTISEMENT

# # #


केन्द्रले यसअघि वैशाख १५ देखि जेठ ५ गतेसम्मको समयावधी राखेर पहिलो संस्करणको कार्यक्रम सम्पन्न गरेको थियो । पहिलो चरणको कार्यक्रमको राम्रो प्रतिकृया आएपछि थप प्रतिभालाई बाहिर ल्याउन दोस्रो संस्करणको कार्यक्रम अयोजना गरिएको निर्देशक मिलन मोक्तानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणमा अवसर पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र तेस्रो हुनेका लागि २५ हजार नगदसहित एउटा गीत रेकर्ड गरिने अयोजकले बताएको छ ।