काठमाडौँ, २७ फागुन । नेकपा (एमाले) ले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ ।


ADVERTISEMENT


एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार भएको विषयलाई गम्भीरतापूर्वक भारत सरकार समक्ष उठाउन, जनतालाई यथार्य जानकारी दिन र आइन्दा यस्ता घटना नदोहोर्याउने भरपर्दो प्रतिवद्धता व्यक्त गराउन सरकारलाई आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


‘‘विगतमा पनि भारतीय पक्षबाट सीमा क्षेत्रमा ज्यादती हुँदै आइरहेकोमा अहिले देशभित्र संविधान कार्यान्वयनका लागि बनिरहेको जनमतलाई भाँड्नका लागि कतै यस्ता गतिविधि सुनियोजित रुपमा त भइरहेका छैनन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ’’ विज्ञप्तिमा भनिएको छ, ‘‘एकातिर शान्तिपूर्ण रुपमा मुलुकको प्रमुख प्रतिपक्षी दलले आयोजना गरेको मेची–महाकाली अभियानमाथि योजनाबद्ध रुपमा आक्रमण हुने अनि अर्कातिर सीमा क्षेत्रमा नेपाली नागरिकमाथि गोली प्रहार हुने घटनाले हामीलाई थप गम्भीर बनाएको छ, यस्ता घटनाका विरुद्धमा सचेत रहन हामी आह्वान गर्दछौ ।’

मृतक गौतमको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि एमालेको माग छ ।