दाङ – जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो ।


ADVERTISEMENT


जिल्लाका मठमन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीयस्थलमा पुग्ने मानिसको सङ्ख्या बढ्दै जान थालेको छ । घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दहमा पुग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि भएको डुङ्गाचालक वीरजन पुनले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म चल्न नसकेका डुङ्गा अहिले चल्न थालेको उनको भनाइ छ । आजभोलि दैनिक करिब २०० को सङ्ख्यामा मानिस दहमा घुमफिर तथा डुङ्गा चढ्न आउने गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको जङ्गलको बीचमा रहेको दह आकर्षक रहेको छ । वडा नं १३ कै बाह्रकुने दहसँग जोडिएको ज्यामिरे दहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि करिब तीन वर्ष पहिले तालको चौडाइ, लम्बाइ र गहिराइ बढाइएको थियो । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४५ मिटर र गहिराइ ३० मिटर रहेको ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

बाह्रकुने दहबाट ज्यामिरे दह पुग्नका लागि ग्रिलसहितको सिँढी निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय दाङले पर्यटकीय क्षेत्रको विकासका लागि ग्रिलसहितका सिँढी निर्माण गरिदिएपछि बाह्रकुने दहबाट ज्यामिरे दह मानिसलाई आउन सहज भएको स्थानीय कमल पुनले जानकरी दिए।

त्यस्तै पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दै गएको छ । कोरोनाका कारण सुनसान बनेको शान्ति उद्यानमा पछिल्लो समयमा विभिन्न भौतिक संरचना थपिएसँगै पर्यटक पनि थपिँदै गएका छन् । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा रु २४ लाख लागतमा बुद्धको मूर्ति स्थापना गरेसँगै दिनहुँजसो आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए । उनले बिदाको दिन दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेको बताए।

उनले शान्ति उद्यानमा विभिन्न संरचना पछिल्लो समयमा थपिएपछि पर्यटक पनि भरिभराउ हुने गरेको जनाएका छन् । विसं २०५९ मा शान्तिको कामना गर्दै तुलसीपुर उपमहानगरपालिका–७ मा स्थापना भएको प्रदेशकै सबैभन्दा ठूलो पर्यटनको सम्भावना बोकेको राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको हो । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट अवलोकनका लागि मानिस आउने गरेका छन् । “बुद्धको मूर्ति स्थापनासँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ, यसअघि कोरोनाको सङ्क्रमणले सुनसान उद्यानमा हाल भरिभराउ हुने गरेको छ”, भण्डारीले भने।

चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र बगैँचासमेत छन् । त्यस्तै सानो चिडियाखानाले पनि आकर्षण बढाएको छ । त्यस्तै अम्बिकेश्वरी मन्दिर, छिलिकोटको कालिका मालिका मन्दिरमा पनि पर्यटकको चहलपहल बढेको छ । त्यस्तै गढवा गाउँपालिकाको कोइलावासमा रहेको रामजानकी मन्दिरमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् । रासस