सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ ।


ADVERTISEMENT


सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाको सीमानामा पर्ने दुधकोशीको अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु सडकसञ्जासंग जोडिएको हो । यससँगै खुम्बु क्षेत्रमा पुग्न हवाई यात्रा र कष्टकर पैदल यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य मात्र भएको छैन विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज समेत बनेको छ ।


ADVERTISEMENT

# # #


हवाई र पैदल यात्राबाट मात्र पुग्न सकिने खुम्बु क्षेत्र सडकसंग जोडिएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुने स्थानीयको विश्वास छ । खुम्बु क्षेत्रमा वर्षेनि ४० देखि ५० हजार पर्यटक भ्रमण गर्ने तथ्याङ्क छ । सडक सञ्जालले खुम्बुलाई सोलुसंग जोडेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । माप्य दुधकोशी गाउँपालिका–२,का राम बहादुर राईले बिगत सम्झिदै भने, ‘उहिले यो खेला (दुधकोशी) बाबियोको डोरीमा झुण्डेर पो तर्नु पथ्र्यो त ।’ सडक

दुधकोशी नदीमा पुल संचालन भएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं.१, थामडाँडासम्म सवारी साधन पुग्न थालेका छन् । यही वर्षभित्र खुम्बुको चौरीखर्कसम्म गाडीमार्फत आवतजावत गर्न सकिने खुम्बु पासागंल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासी ल्हामु शेपा बताउँछिन् ।

खुम्बु क्षेत्र सडक सञ्जालसंग जोडिएपछि खुम्बु क्षेत्रमा दैनिक उपभोग्य सामाग्रि र पर्यटकलाई लाग्ने भ्रमण खर्च पनि सस्तो हुने बताउँछन् स्थानीय आङफुर्वा शेर्पा । शेर्पा भन्छन, ‘रोड नहुँदा खाद्यान्न, नुन, तेल जस्ता सप्पै चिज हेलिकप्टर र प्लेनबाट ओसार्दा महंगो हुन्थ्यो । गाडीले ढुवानी गरेपछि त अब सस्तो हुन्छ ।’

अब मौसम सफा हुने प्रतिक्षा गरेर पर्यटकले लामो समय कुर्नुपर्ने समयको अन्त्य भएको छ । ‘मौसम सफा हुने समय कुर्दा कुर्दा कतिको भिसाको म्याद सकिन्थ्यो । कतिको खर्च सकिन्थ्यो । अब त मौसम सफा भएन भने पनि गाडीबाट सरर आउ जाउ गर्न सकिन्छ,’ स्थानीय गोम्बु शेर्पाले भने । सडक सञ्जालले खुम्बु क्षेत्र मात्र नभई सोलुका सेलिगुढी, खास्ताप, काँकु, राप्छा, ठूलीढुंगा, ओर्लाङघाट अँधेरी, जुभिङ, खरीखोला, बुप्सा लगायतका एक दर्जन बस्तीलाई पनि जोडेको छ ।

७ करोड २९ लाख ९७ हजार २ सय रुपैयाँ लागतमा निर्माण भएको पुलका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड, प्रदेश सरकारबाट २ करोड र बाँकी बजेट माप्य दूधकोसी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त रूपमा विनियोजन गरेका थिए ।