काठमाडौँ – प्रहरीले आफ्नै साथीको हत्या गरी फरार अभियुक्तलाई मकवानपुरबाट पक्राउ गरेको छ । बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी २ घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न फरार अभियुक्त मकवानपुर गढीका २८ वर्षीय मान कुमार थिङलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


२०७६ साउन २८ गते ललितपुरको गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढीबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भएको थियो । खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा मेसेज आदान प्रदान हुने कुरा थाहा भएपछि उनीबीच विवाद भएको थियो । सोही विवादपछि २०७६ साउन २५ गते ललितपुरको गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । घटनामा संलग्न आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।