फलेवास, पर्वत– विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमध्ये पर्ने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकीय मौसम शुरुआत भएसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ ।


ADVERTISEMENT


भूकम्पलगायत कारण खस्केको पर्यटन व्यवसाय विगतको तुलनामा भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्न थालेपछि व्यवसायी उत्साहित बनेका छन् । यस वर्षको पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि आउने पर्यटकको संख्या बढ्न थालेको हो । प्रायःजसो सेप्टेम्बर र अक्टोबर महिनामा विदेशी पर्यटकको भीड लाग्ने भएकाले सेप्टेम्बरको सुरुदेखि नै पर्यटकीय चाप बढेर गएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । पर्वत र कास्कीको सिमानामा पर्ने नयाँपुलबाट शुरु हुने सो पदयात्रा मार्गमा वार्षिक हजारौंँ विदेशी पर्यटकले पदयात्रा गर्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


अन्नपूर्ण पदयात्रा मार्गमा यस याममा दैनिक तीन सयदेखि पाँच सयसम्मले भ्रमण गर्ने गरेका छन् । यस वर्ष अत्यधिक वर्षाका कारण पर्यटक आउन समेत कम भएको टान वीरेठाँटीका सोना श्रेष्ठले जानकारी दिए। उनका अनुसार गत वर्षभन्दा पर्यटकको संख्या बढेको भए पनि वर्षाका कारण पर्यटक सोचेजस्तो नभएको बताए । नयाँपुलबाट शुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ्ग, अन्नपूर्ण आधारशिविर पुग्छ भने पर्यटक वीरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ्ग पनि पुग्ने गर्छन् ।

पदयात्रा मार्गमा स्पेनी जर्मनेली, बेलायतीलगायत युरोपेली मूलका पर्यटक अत्याधिक आउने गरेका छन् । अमेरिकी, क्यानडालीका साथै कोरियाली, जापानी, चिनियाँलगायत एशियाली मुलुकका पर्यटकसमेत आउने गरेका छन । पछिल्ला वर्षमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका छन् भने दोस्रोमा कोरियाली पर्यटको संख्या पर्छ ।

दुर्लुङ्गमा छाँगारोहण हुँदै

साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभीर झरनामा संचालन हुने भएको छ ।

मिनोरम खोला र बाह्रैमास एकै किसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ संचालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्ष्य गर्दै धौलागिरिमै पहिलो पटक क्यानोनिङको तयारी गरिएको संचालक उद्धिमबहादुर गुरुङ्गले जानकारी दिए ।

क्यानोनिङ्गका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भैसकेको र दशैँलगत्तै संचालनमा ल्याउने तयारी गरिएको छ । सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ्ग बस्तीको बाहुल्य छ । स्थानीय चनौटेमा घरबास विस्तार र महभीर खोलामा क्यानोनिङ एकै पटक शुरु गरिने गुरुङले जानकारी दिए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ्ग सडकको व्यवस्था छ ।
कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे २ घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने गुरुङ्गको विश्वास छ । लक्ष्मीप्रसाद सापकोटा/रासस