बलेवा । सत्ताइस वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका १ पालागाउँमा खानेपानीको समस्या भएको छ । खानेपानी जम्मा गर्ने र वितरण गर्ने ट्याङ्की चुहिन थालेकाले पालाका १५ अहिले समस्यामा परेका हुन् । उक्त पानी ट्याङ्कीमा केही समय पहिले अज्ञात समूहले तोडफोड गरेको थियो ।


ADVERTISEMENT


तत्कालिन जिल्ला विकास समितिले २०५० सालमा बनाएको यो योजना मर्मतका लागि बजेट छैन । कहिँ कतैबाट बजेट नआउने र उपभोक्ताले मात्रै पैसा उठाएर मर्मत गर्न सक्ने अवस्था नरहेकाले ट्याङ्की अलपत्र भएको उपभोक्ता झपेन्द्रबहादुर थापाले बताए । ‘‘पानीको स्रोत त थियो, सङ्लकन गरेर वितरण गरे मात्र पुग्थ्यो’’ उहाँले भन्नुभयो, ‘‘सिधै पाइप लगाए एकदुई घरलाई मात्र पुग्छ, सबैलाई वितरण गर्न सकिंदैन ।’’


ADVERTISEMENT

# # #


मर्मतका लागि चाहिने डेढ लाखको अभावमा ट्याङकी जीर्ण भइ अहिले ट्याङ्कीको भग्नाबशेष मात्रै रहेको र पानीका लागि अहिले स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

पालाकै धिमीमा तीन वर्षअघि बनाइएको खानेपानीको ट्याङ्कीको निर्माण नसकिंदै चुहिन थालेकोले वितरण नै हुन सकेन । बाहिरबाट हेर्दा आर्कषक देखिने यो ट्याङकीमा पानी नअडिने भएको छ । खानोपनी तथा सरसफाइ डिभिजन कार्यालयले ठेक्कामा लगाएको यो आयोजनाका ठेकेदारले काम अलपत्र पारेर हिँडेको उपभोक्ता गोरे बिकले बताए ।

“काम पनि राम्रो गरेनन्, पानीको स्रोत पनि हिनामिना बनाए” उनले भने, “कसलाई भनेर समस्या समाधान हुन्छ भन्ने पत्तो लगाउन सकिएन । यो ट्याङकीबाट पनि यहाँका १२ घरधुरीले पानी खान्थे । मर्मतको अभावमा चुहिने भएपछि खोल्साको पानी बोकेर खान बाध्य छन् । ”

डिभिजन कार्यालयमार्फत सञ्चालित योजनामा भने रकम धेरै भएपनि परिचालन खर्च थोरै आउने गरेको डिभिजन प्रमुख राजेन्द्र न्यौपानेले बताए । जिल्लाका दर्जनौं योजना बजेट अभावले अधुरा भएको र उपभोक्ताले खानेपानीको सास्ती खेप्न बाध्य भएको उनको भनाई छ ।

खानेपानीको सास्ती भएपछि वडाको बजेट टोल–टोलमा सुरक्षित ट्याङ्की निर्माणमा लगाइएको वडाध्यक्ष खड्ग थापाले बताए । गत आर्थिक वर्ष वडाले गण्डकी प्रदेश सरकारबाट प्राप्त रू ३० लाख र गाउँपालिकाको रू ८ लाखको लागतमा टोल टोलमा ट्याङ्की, घर घरमा धारा कार्यक्रम सञ्चालन गरेको थियो । चालु आर्थिक वर्षका लागि पनि छुटेका टोलमा ट्याङ्की मर्मतका लागि बजेट बिनियोजन गर्ने योजना वडा समितिको छ । गत दुई वर्षमा आठ वटा ट्याङ्की मर्मत गरेर २०० घरमा खानेपानी वितरण गरिएको थियो ।