काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर लगायतका प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आजवाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।


ADVERTISEMENT


एक कार्यक्रमकावीच रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् । रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा बोल्दै ट्राफिक महाशाखा प्रमुख एसएसपी ढकालले ‘यसरी नै ट्राफिक प्रहरीसँग सबै मिलेर लागिपर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बताए ।’ उनले काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाईट जडानका लागी स्थानीय निकाय, सडक बिभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भईरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाईटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडी, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडी) लगायत क्षेत्रका ट्राफिक लाईट सञ्चालनमा ल्याइसकेको छ ।

उक्त ट्राफिक लाईट हस्तान्तरण तथा उद्‌घाटन कार्यक्रममा पूर्व एआईजी विज्ञानराज शर्मा, पूर्व एआईजी विजयलाल कायस्थ, पूर्व डिआईजी रमेश खरेल, काठमाडौं ११ वडाका अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ त्रिपुरेश्वरका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रहरी अधिकृतहरू, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।