काठमाडौँ– दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् ।


ADVERTISEMENT


त्यसैले दशैंमा चौपाया या माछामासु किन्दा विशेष ख्याल गर्नु आवश्यक छ । ठूलो मात्रामा आयात हुने, कतिपय अवस्थामा लुकाईछिपाई भित्र्याइने, आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने लगायतका कारण बजार पुगेर कारोबार हुनु अगावै पनि कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् । त्यसका अलावा उपभोक्ताले किन्ने समयमा पनि चौपायामा समस्या आउन सक्छ ।


ADVERTISEMENT

# # #


यस्तो अवस्थामा चौपाया किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ । हतारमा खरिद गर्ने, किन्नुअघि राम्रोसँग नहेर्ने हो भने रोगी चौपाया उपभोग गर्दा स्वास्थ्य समस्या निम्तिने जोखिम हुन्छ ।

पशु स्वास्थ्य निर्देशनालयकी पशु चिकित्सक लुना डंगोल दशैंमा चौपाया किन्दा उपभोक्ता स्वयंले पनि ख्याल राख्नुपर्ने बताउँछिन् । ‘निर्देशनालयले आफ्नो तर्फबाट चौपायाको परीक्षण त गरिरहेकै हुन्छ,’ उनी भन्छिन्, ‘तर, उपभोक्ताले पनि खरिद गर्नेबेला ख्याल गर्दा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।’

सिंग हेरेरमात्र किन्नुस् खसी

चौपायाको स्वास्थ्य परीक्षण गरी निर्देशनालयले रंग लगाउने गर्छ । निर्देशनालयका अनुसार पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने विरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् । निर्देशनालयले सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसको आधारमा रंग लगाउँछ ।

‘चौपायाको आयात हुने उपत्यकाका मूख्य नाकामा निर्देशनालयको क्वारेन्टाईन हुन्छ, त्यहीँबाट चौपायाको स्वास्थ्य परीक्षण गरेर रंग लगाएर पठाइन्छ,’ पशु चिकित्सक डंगोल भन्छिन् ।

निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ । निर्देशनालयले बनेपा, नाकढुंगा, कलंकी, बल्खु लगायतका चौपाया आयात हुने स्थानमा पशु स्वास्थ्य परीक्षण कार्यालय स्थापना गर्ने तयारी गरेको डंगोलले बताईन । अन्य समय पनि यस्तो काम नियमित भए पनि दशैंको समयमा यसलाई बढी चुस्त बनाइँदै आएको छ । क्वारेन्टाइनका लागि कर्मचारीको व्यवस्थापन गरिरहेको निर्देशनालय बताउँछ ।

यस्ता खसी हानिकारक

निर्देशनालयका अनुसार चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएरनभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्छन्,’ निर्देशनालयकी पशुचिकित्सक डंगोल भन्छिन्, ‘भित्री रोगको लक्षण तीनको शारिरीक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भएरनभएको थाहा हुन्छ ।’

निर्देशनालय आफैंले पनि उपत्यकाका मूख्य खसी बजारमा निरीक्षण गर्ने तयारी गरेको छ । ती स्थानमा विहान र बेलुका गरेर पशुचिकित्सक पठाईने निर्देशनालय बताउँछ ।

त्यस्तै, बेच्न राखेको मासुको पनि अनुगमन गरिने निर्देशनालय बताउँछ ।

अनलाईन खबरबाट